समाज


छोरीको न्वारनमा खसी काटेर भोज, कोरोना फैलिएको आशंकामा गाउँका ७० जनाको स्वाब संकलन

छोरीको न्वारनमा खसी काटेर भोज, कोरोना फैलिएको आशंकामा गाउँका ७० जनाको स्वाब संकलन

नेपालखबर
भदौ १४, २०७७ आइतबार ३:२,

कोरोना महामारीको कारण यतिबेला अधिकांश सामाजिक कार्य बन्द छन्।

समुदायमा कोरोना सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ।

तर बागलुङ-१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्डसमेत नअपनाइ भोजको आयोजना गर्दा समुदायमै कोरोना संक्रमण फैलिने आशंका गरिएको छ।

कोरोना जोखिमको समयमा छोरीको न्वारनमा एक परिवारले ठूलो जमघट गरी भोज गरेको पाइएको छ ।

लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै कोरोना सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

उनीहरुले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए। भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिए।

छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका युवामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको आचार्यलेले बताए।

‘कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो’, आचार्यले भने, ‘न्वारनमा भोज दिनेमै कोरोना देखिएपछि ७० जनाको स्वाब सङ्कलन गरेका छौँ, समाजमा सामान्य सचेतना नअपनाउँदा भयावहको अवस्था आउन सक्छ।’ नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको हो।

सङ्क्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ। स्वाब सङ्कलन गरिएका ७० जनामा न्वारन गरिएकी २२ दिनकी शिशुसमेत छिन्।

नागरिकस्तरबाटै सचेतना नअपनाउने हो भने एकल प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। ‘राज्यले भीडभाड नगर्नू, सामाजिक कार्य गर्दा सतर्कतासहित सामान्य गर्नू भनेकै छ, तर गाउँमा भोजभतेर, पूजापाठ, विवाहोत्सव चलेकै छ’, खनालले भने, ‘यस्तो गतिविधि शहरमा रोकिए पनि गाउँमा रोकिएको छैन।’

समुदायका मानिसमा कोरोना सचेतना नअपनाउँदा बागलुङ नगरपालिकाभित्र तीव्रगतिमा कोरोना फैलिएको छ। नगरभित्रको समुदायस्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टि भइसकेको छ। नगरपालिकाभर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad