ग्लोबल


कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु, अस्ट्रेलिया र युरोपमा महामारीको दोस्रो लहर

कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु,  अस्ट्रेलिया र युरोपमा महामारीको दोस्रो लहर

नेपालखबर
भदौ १४, २०७७ आइतबार ३:१३,

कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोनाका कारण बेलायतमा १ र यूएईमा २ नेपालीको मृत्यु भएको हो।

शनिबार साँझसम्मको तथ्यांकअनुार १६ देशमा गरी कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १९५ पुगेको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबलगायत देशमा नेपालीमा कोरोना संक्रमण हुने क्रम केही बढेको छ।

अस्ट्रेलिया र युरोपका केही देशमा कोरोना महामारीको दोस्रो वेभ (लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रूपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

हालसम्म ती देशमा बस्ने ३४ हजार ७ सय १ नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ३२ हजार ५ सय ११ जना भने कोरोनाबाट मुक्त भइसकेको स्वास्थ्य समितिले जनाएको छ।

सावधानी अपनाउन आग्रह
गैरआवासीय नेपाली संघअन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरस संक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ।

समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता कार्यक्रम नगर्न र गर्नैपर्ने भए सीमित संख्यामा भेला हुन तथा भौतिक दूरी कायम गर्न आग्रह गरे।

साथै कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्नसमेत आग्रह डा. सापकोटाले सुझाव दिएका छन्।

तनावबाट मुक्त हुनका लागि एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत संगीत सुन्न र योग तथा ध्यान गर्नसमेत डा. सापकोटाको सुझाव छ।

कोरोनाविरुद्ध खोप, आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणका लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरेका छन्।

कोरोना भाइरसविरुद्धका खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्विट्जरल्यान्डलगायत देशमा तीव्र गतिमा उत्पादन र परीक्षण भइरहेको छ।

५३ हजार ६ सय ९९ नेपालीको उद्धार
विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ नेपालीको उद्धार भएको छ। गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरूको उद्धार गरिएको गैरआवासीय नेपाली संघअन्तर्गत कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad