महोत्तरीको बर्दिवासस्थित सरकारी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु भएको छ।
शुक्रबारबाट जिल्लामै पहिलो पटक पीसीआर परीक्षण सुरु गरिएको बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्कीले जानकारी दिए। पीसीआर मेसिनसहितको व्यवस्थापनमा नगरपालिकाले करिब ९५ लाख रुपैयाँ खर्च गरेको छ।
गएको असारमा उद्घाटन गरिएको बर्दिवास अस्पतालको तीनतले नयाँ भवनमा पीसीआर मेसिन जडान गरिएको छ। ‘जनशक्ति पर्याप्त भए अब हामी दैनिक करिब नौ सय नमूनाको रिजल्ट दिन सक्छौँ,’ मेयर कार्कीले नेपालखबरसँग भने, ‘हाल जनशक्ति पर्याप्त नभएकाले क्षमताअनुसारको परीक्षण हुँदैन।’
क्षमताअनुसार पीसीआर मेसिन सञ्चालन गर्न १२ जना स्वास्थ्यकर्मीको आवश्यकता पर्ने भए पनि हाल ६ जना मात्रै कार्यरत रहेका उनले जानकारी दिए।
शुक्रबार अस्पतालमा १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ।

अस्पतालबाट आएको रिपोर्ट पुनः ‘भेरिफाई’ गर्न राति नै जनकपुर पठाइएको कार्कीले बताए। ‘हाम्रो प्रयोगशालाले दिएको रिपार्ट जनकपुरमा पुनः परीक्षण गर्दा उस्तै नतिजा आयो भने भोलीबाट बर्दिबास अस्पतालबाटै नतिजा सार्वजनिक हुन्छ,’ कार्कीले भने।
अस्पतालको ल्याबमा हाल दुई जना बीएमएलटी मात्रै कार्यरत रहेका मेडिकल माइक्रो बायोलोजिस्ट अनिलकुमार साहले जानकारी दिए। ‘केही दिनमै तीन जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेन्ट थप गर्नेछौँ,’ उनले भने।

प्रतिक्रिया