समाज


भक्तपुरमा दुई गाडी ठोक्किँदा चालकको मृत्यु, १९ महिने शिशुसहित ३ घाइते

भक्तपुरमा दुई गाडी ठोक्किँदा चालकको मृत्यु, १९ महिने शिशुसहित ३ घाइते

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार २:२२,

भक्तपुरमा तेल बोकेको ट्यांकर र पानीको जार बोकेको भ्यान आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने १९ महिने शिशुसहित ३ जना घाइते भएका छन्।

भक्तपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता, डीएसपी दीपक गिरीका अनुसार जगातीबाट साँगातर्फ जाँदै गरेको ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्यांकर र विपरीत दिशाबाट आइरहेको बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको भ्यान बिहीबार दिउँसो ३ बजेतिर सूर्यविनायक-९, बाँसघारीमा ठोक्किएका हुन्।

दुर्घटनामा भ्यानका चालक झापाको अर्जुनधारा नगरपालिका-२ का २६ वर्षीय मिलन मगरको मृत्यु भएकाे हाे।

‘दुर्घटनामा उनीसहित चार जना घाइते भएका थिए,’ डीएसपी गिरीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘चारै घाइतेको उपचार गर्ने क्रममा चालक मगरको चाहिँ दिउँसो ४ बजेतिर मृत्यु भयो।’

उनका अनुसार अन्य घाइतेमा त्यही गाडीका सहचालक मोरङको अमरदह गाउँपालिका–८ का १५ वर्षीय विवेक राजवंशी,  काभ्रेपलाञ्चोक साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिनाका छोरा मेडिज छन्। 

अहिले तीनै घाइतेकाे भक्तपुरस्थित डाक्टर इभा मुरा अस्पतालमा उपचार भइरहेको छ। 

‘ती आमा छोरा सामान्य घाइते छन्,’ डीएसपी गिरीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘सहचालकको अवस्थाचाहिँ अलि गम्भीर छ।’

मगर चालककाे मृत्यु पनि त्यही अस्पतालमा भएकाे हाे। 

ट्यांकरका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

‘ट्यांकरका चालक रातिसम्म फरार छन्,’ डीएसपी गिरीले भने, ‘अहिले बिहानसम्म कतै फेला परे कि थप जानकारी प्राप्त भइसकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad