छापा खबर


कोरोना संक्रमण : विज्ञ भन्छन्- इटालीको गल्ती नदोहोर्‍याउँ

कोरोना संक्रमण : विज्ञ भन्छन्- इटालीको गल्ती नदोहोर्‍याउँ

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १:४४,

दृष्टान्त १
इटालीमा कोभिड लागेका र नलागेका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा दर्जनौं स्वास्थ्यकर्मी संक्रमित भए। कतिपयको ज्यान गयो। अस्पतालमा संक्रमण फैलिँदा अन्य व्यक्ति पनि संक्रमित हुन पुगे।

दृष्टान्त २
लाइबेरियामा ६ वर्षअघि इबोला संक्रमित र अन्यको एउटै अस्पतालमा उपचार गर्दा समस्या थपियो। संक्रमणबाट चिकित्सकको पनि मृत्यु भयो।

संक्रामक रोगका र अन्य बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा उत्पन्न जटिलताका दृष्टान्त हुन् यी।

नेपालमा कोरोना संक्रमणको तीव्रतासँगै मृत्युदर पनि बढेको जनाउँदै सरकारले मुलुकभरका अस्पताल कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना नलागेका गर्भवती, दीर्घरोगीलगायत अन्य आकस्मिक समस्या भएका बिरामी भने उपचारबाट वञ्चित भएका छन्।

जनस्वास्थ्यविद् डा‍. बाबुराम मरासिनी सबै अस्पताललाई कोभिड अस्पताल घोषणा गर्नु उपयुक्त नभएको बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतम र आकाश क्षेत्रीले लेखेका छन्।

‘कोरोना संक्रमितका साथै कोरोनाबाहेक अन्य बिरामीलाई पनि उपचार गर्नुपर्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा.मरासिनी भन्छन्, ‘कोभिड र नन्कोभिड अस्पतालका रूपमा स्वास्थ्य संस्था छुट्टाएर उपचार व्यवस्था मिलाउनुपर्छ।’

उनका अनुसार इटलीको स्वास्थ्य मन्त्रालयले हामीले जे गल्ती गर्‍यौं अरू देशले नगर्नू है भनेर अनुरोध गरेको छ। भन्छन्, ‘लाइबेरियामा पनि इबोला संक्रमण हुँदा एउटै अस्पतालमा सबैलाई उपचार गर्दाको घटनाबाट सिक्नुपर्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल कोरोना र अन्य बिरामीलाई छुट्टाछुट्टै अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताउँछन्। ‘कोभिड नलागेका गर्भवती, सर्जरी वा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि छुट्टै अस्पताल तोक्दा स्वास्थ्यकर्मी संक्रमित हुने जोखिम पनि हुँदैन। अन्य बिरामी पनि ढुक्क भएर सेवा लिन पुग्छन्’, उनी भन्छन्।

सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्था, खाली भएका विभिन्न व्यापारिक भवनलाई ‘नन्’ कोभिड अस्पतालका रूपमा घोषणा गर्न सक्ने उनको सुझाव छ। ‘प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकीको संरचना छ। त्यहाँका स्वास्थ्यकर्मीलाई नै तालिम दिन सकिन्छ’, उनी भन्छन्, ‘ती संस्थामा जँचाएपछि बिरामीलाई कोभिड लागेका र नलागेका छुट्ट्याई सोहीअनुरूप उपचार व्यवस्था मिलाउन सकिन्छ।’

सिन्धुपाल्चोककी एक महिला उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) र ओम अस्पताललगायतमा पुगिन्। तर, अस्पतालले कोभिडको आशंकामा भर्ना लिएनन्। अन्त्यमा उनी त्रिवि शिक्षण अस्पतालमा पुगेकी थिइन्।

मन्त्रालयका डा.तारानाथ पोखरेल जुनसुकै बिरामी भए पनि अत्यावश्यक सेवा दिनुपर्ने बताउँछन्। ‘स्वास्थ्य मन्त्रालयको अनुरोधलाई कतिपय निजी अस्पतालले पालना नगरेको पनि पाइयो। सेवा रोकेर नागरिकको अधिकारबाट बञ्चित गराउन पाइँदैन’, उनी भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad