मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई नै कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै सेवा बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए।
चितवनको भरतपुर-१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरर्गत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको उल्लेख छ।
‘मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना सङ्क्रमण देखिएको छ’, मेडिकल अधिकृत अधिकारीले भने। दुवै सङ्क्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन्। हालसम्म मनाङमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन्।
यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएकामध्ये आज दुई जनामा सङ्क्रमण पुष्टि भएको हो।
मनाङमा सङ्क्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आएका कर्मचारी हुन्। सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब सङ्कलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए।
त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यक बाहेका सेवाहरु यही भदौ १५ सम्मलाई स्थागित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। रासस
Shares

प्रतिक्रिया