समाज


नेपालमा पनि मानिसलाई लगाएर कोरोना खोपको परीक्षण सुरु गरिँदै

नेपालमा पनि मानिसलाई लगाएर कोरोना खोपको परीक्षण सुरु गरिँदै

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ४:२७,

विभिन्न देशमा बनेका कोरोना भाइरसविरुद्धका खोप नेपालमा पनि मानिसलाई लगाएर परीक्षण सुरु गर्न लागिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वमा अहिलेसम्म बनेकामध्ये तेस्रो चरणकाे परीक्षणमा पुगेका खोप नेपालका नागरिकमा पनि परीक्षण गर्न लागिएकाे हाे। 

सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्ध बनेका भ्याक्सिनको ट्रायल नेपालमा पनि सुरु गर्न लागिएकाे जानकारी दिएका हुन्। 

‘नेपालमा पनि भ्याक्सिनको ट्रायल सुरु गर्न लागिएको छ,’ डा. गौतमले भने, ‘रेमडेसिभिर औषधि पनि ट्रायलका रूपमा प्रयोग सुरु गरिएको छ। कन्भालेसेन्ट प्लाज्मा पनि ट्रायलका रूपमा प्रयोग गरिएको छ।’

कतिपयले काेराेना खाेपकाे परीक्षण नेपालमा गर्न हुँदैन भनेर भ्रम छरिरहेकाे भन्दै त्यस्ताे अफवाह नफैलाउन तथा नपत्याउन पनि उनले सचेत गराए। 

डा. गौतमले भने, ‘नेपालमा भ्याक्सिनको ट्रायल गर्न हुँदैन भन्ने खालका कुरा पनि उठिरहेका छन्। योचाहिँ नेपाल स्वास्थ्य अनुसन्धान परिषदको गाइडलाइनअनुसार विश्वव्यापी मान्यताका आधारमा स्वतःस्फूर्तरूपमा अध्ययनमा, रिसर्चमा, ट्रायलमा सामेल हुन चाहनेहरूलाई मात्र समावेश गरिने हुनाले यसमा भ्रम नपाल्न र भ्रम नछर्नसमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्छ।’ 

यस विषयमा थप स्पष्ट हुन नेपालखबरले मंगलबार बिहान स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीसँग जिज्ञासा राख्दा उनले विश्वमा विकास गरिएका खोपमध्ये तेस्रो चरणको परीक्षणमा पुगेका खोप नेपालमा पनि परीक्षण गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिए।

‘सुरुमा चीनको होङ्सी कम्पनीले खोप उपलब्ध गराउने जानकारी आएको छ,’ डा. अधिकारीले भने, ‘जति पनि तेस्रो चरणको परीक्षणमा पुगेका छन्, ती खोप नेपालमा पनि परीक्षणका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई निर्देशन दिइसकेको छ।’

उनका अनुसार नेपालमा कोरोनाविरुद्ध खोपको परीक्षणका लागि आवश्यक प्रक्रियाको तयारी परिषदले गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad