गत बुधबार मध्यरातिदेखि उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा लागू निषेध (अत्यावश्यकबाहेक अन्य गतिविधि बन्द) को अवधि भोलि बुधबार मध्यरातिबाट सकिँदै छ।
यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा छलफल गर्न आज (मंगलबार) तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।
‘आज हामी पहिले दिउँसो १ बजे उपत्यकाका मेयरहरूसँग बैठक बस्दैछौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले मंगलबार बिहान नेपालखबरसँग भने, ‘त्यसपछि दिउँसो ३–४ बजेतिर हामी तीन जिल्लाका सीडीओसहितको संयुक्त बैठक बस्नेछौं।’
निषेध लम्ब्याउने सम्भावना कतिकाे छ त भन्ने नेपालखबरकाे जिज्ञासामा उनले याे विषयमा अहिल्यै भन्न नसकिने बताए।
‘अब हामी बसेर यो एक हप्ता (निषेधाज्ञा लागू अवधि) को प्रभाव कस्ताे देखियाे, त्यसकाे समीक्षा गर्छाैं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसपछि सबैको राय सुझावअनुसार के गर्दा उपयुक्त हुन्छ, त्यही निर्णय गर्छाैं।’
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने उपत्यकामा संक्रमण बढ्दै गएकाले निषेध अवधि थप गर्नुपर्ने आवश्यकता देखिएको बताइन्।
‘अहिले उपत्यकामा औसतमा दैनिक २ सय संक्रमित थपिइरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपालखबरसँग भनिन्, ‘त्यसो भएको हुनाले निषेधको अवधि पुनः थप गर्नुपर्ने आवश्यकता देखिन्छ।’
कोरोनाविरुद्ध निषेधलगायतका नियम लागू गर्दा उपत्यकाका तीनै जिल्लामा एउटै भाषा/परिभाषाको हुने जानकारी पनि उनले दिइन्।
याे पनि : भदौ १५ सम्म लकडाउन थप्न उपत्यकाका मेयरहरुकाे सुझाव

प्रतिक्रिया