छापा खबर


कोरोनाविरुद्धका तीन खोप नेपालमा परीक्षण गर्न छलफल

कोरोनाविरुद्धका तीन खोप नेपालमा परीक्षण गर्न छलफल

नेपालखबर
भदौ ९, २०७७ मंगलबार २:१४,

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ।

सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको खबर आजको नागरिक दैनिकले छापेको छ।

सरकारमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको हो।

परिषद्का सदस्यसचिव डा.प्रदीप ज्ञवालीले नेपालका लागि रुसी राजदूत अलक्साई नोभिकोभलाई सोमबार भेटेर यससम्बन्धी छलफल गरेका छन्। रुसी राजदूतले नेपालमै कम्पनी खोलेर खोप उत्पादन गर्न वा खरिद गरेर प्रयोग गर्न सहयोग गर्न आश्वासन दिएको ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार सुरुमा एक हजार डोज खोप उपलब्ध गराउन रुसी राजदूत तयार भएका छन्। मस्कोमा रहेको गेमालेया इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा कोरोना भाइरसविरुद्ध निर्मित खोप रुसले दर्ता गरिसकेको छ। तर यसको तेस्रो तथा अन्तिम चरणको परीक्षण हुन बाँकी छ।

यसैगरी गत साता नेपाल भ्रमणमा आएका अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्र्यु पोलार्डसँग पनि उक्त विश्वविद्यालयले निर्माण गर्न लागेको खोपको नेपालमा परीक्षण गर्न प्रारम्भिक छलफल भएको छ। परिषद्, विश्व स्वास्थ्य संगठन र विश्वविद्यालयका अधिकारीहरूबीचको छलफल सकारात्मक रहेको सदस्यसचिव ज्ञवालीले बताए।

अक्सफोर्ड र औषधि निर्माता कम्पनी अस्ट्राजेनेकाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पु¥याएका छन्। विश्वका विभिन्न देशमा यसको परीक्षण हुँदैछ। ज्ञवालीले यो खोपको परीक्षण नेपालमा पनि गरिने प्रारम्भिक सहमति भएको तर कतिजनामा गर्ने भन्ने टुंगो लागिनसकेको बताए।

यसैगरी चीनको होङ्सी कम्पनीले निर्माण गरेको खोपको नेपालका १ हजार स्वयंसेवकमा परीक्षण गर्न पनि छलफल सकारात्मक रहेको ज्ञवालीले बताए। ‘चीनको यो कम्पनीले नेपालमा खोप परीक्षण गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो।

हामीले यससम्बन्धी राय दिन गृहकार्य गरिरहेका छौं,’ ज्ञवालीले भने। कोरोना भाइरसविरुद्धको खोप निर्माणमा हाल विश्वव्यापी प्रतिस्पर्धा छ। विश्वका आधा दर्जन औषधि उत्पादक कम्पनी खोपको अन्तिम चरणको परीक्षणमा पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad