समाज


मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

नेपालखबर
भदौ ८, २०७७ सोमबार ६:१२,

चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजबाट नमूना संकलनको काम शुरुआत गरिएको छ।

निकुञ्जमा ५९ हात्ती रहेका छन्। निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमूना संकलनको काम शुरुआत भएको जानकारी दिए। हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना संकलन गर्न थालिएको छ।

हात्ती प्रजनन् केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती रहेका छन्। ती हात्तीको नमूना संकलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए। यसपछि पोस्टमा रहेका हात्तीहरुको नमूना संकलन गरी परीक्षणका लागि पठाइने छ। काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ। अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिए। सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन्। यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्यांकक छ।

जिल्लाका हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो। यस संक्रमण सन् २०१६ सम्म जारी नै रह्यो। त्यतिवेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो। त्यस पछिका केही वर्ष संक्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ। चिकित्सक श्रेष्ठका अनुसार पछिल्लो पटक गत साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको संक्रमण थियो। यसअघि मरेका तीन वटा हात्तीको पोस्ट मार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको सङक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ।

यस क्षेत्रमा निजी होटलका पनि ५७ वटा हात्ती रहेका छन्। उनी हात्तीमा दोस्रो चरणमा क्षयरोग देखा परेको अनुमान गर्छन्। समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने जनाउँदै उनले उपचारको कामलाई तीव्रता दिन लागिएको बताए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल सुरु गर्न लागिएको जानकारी दिए। क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उनको भनाइ छ।

निकुञ्जका हात्ती विभिन्न पोस्टहरुमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलहरुले प्रयोग गर्दै आएका छन्। निकुञ्ज हात्ती सफारीका लागि अन्तराष्ट्रिय रुपमा प्रख्यात छ। यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ। हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन्। हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने र खर्चिलो हुने चिकित्सकहरु बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad