रुपन्देही र चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।
उनी स्वर्गद्वारी नगरपालिका-७, सोत्रेका स्थायी बासिन्दा हुन्। उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनको प्यूठानमै उपचार भइरहेको थियो।
तर, संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो। यहाँ उनको भेन्टिलेटरमा राखेर उपचार जारी थियो।
सुगर र उच्च रक्तचापको विरामीसमेत रहेका उनको आज बिहान साढे ६ बजे निधन भएको डा.थापाले बताए । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ।
चितवनमा पनि ६५ वर्षीय पुरुषको मृत्यु
राससका अनुसार चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
मृत्यु हुने चितवनकै रत्ननगर नगरपालिका १३ का ६५ वर्षका पुरुष रहेका अस्पताल स्रोतले जनाएको छ।
अस्पतालले शुक्रबार बिहान सूचना जारी गरेर यो जानकारी गराएको हो। विगत ६ दिनदेखि कोभिड-१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको सूचनामा उल्लेख छ।
मृतक पुरुष दीर्घरोगी रहेका र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या देखिएको अस्पतालका कोभिड-१९ क्लिनिकल संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए।
उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भइसकेको छ। अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो। चितवनमा पनि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ।

प्रतिक्रिया