सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ११ जनाको शव निकालिएको छ।
शुक्रबार बिहान माथिबाट आएको पहिरोमा परी ३८ जना बेपत्ता हुनुका साथै ३७ घरमा क्षति पुगेको थियो।
शुक्रबार बिहानै सेनाको हेलिकोप्टरमार्फत पहिरोस्थल पुगेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पहिरोमा परेर बेपत्तामध्ये ११ जनाको शव निकालिएको जानकारी र अझै २७ जना बेपत्ता रहेको जानकारी दिए।
‘लगातारको प्राकृतिक विपत्तिले थलिएको सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो विपत्ति परेको छ। अविरल वर्षापछि गाउँमाथिबाट खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ जसमध्ये १३ घर पूर्णतः पुरिएका छन्। पहिरोमा परेका ३८ जना स्थानीयमध्ये ११ जनाको शव निकालिएको छ’, सभामुख सापकोटाले एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्।
उनले ५ जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइयो जनाकारी दिए। उनका अनुसार पहिरोस्थलमा अहिले पनि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया