समाज


कोरोनाबाट मृत्यु हुने क्रम बढेपछि काठमाडौंमा कडाइ, साढे १९ हजार यात्रुलाई नाकाबाटै फर्काइयो

कोरोनाबाट मृत्यु हुने क्रम बढेपछि काठमाडौंमा कडाइ, साढे १९ हजार यात्रुलाई नाकाबाटै फर्काइयो

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ४:५५,

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ को सङ्क्रमण रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ।

सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई जरुरी सूचना जारी गर्दै निर्देशन दिएको छ।

पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर पनि बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मानिसले लापरबाही गरिरहेकाले समस्या थपिँदै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा निर्देशनअनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको गृह मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकाभित्र र २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा चल्ने सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनका लागि तोकिएका सवारीसाधन मात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरी पालना गर्न गराउने, मास्कको प्रयोग गर्ने गराउनेलगायत निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका निकायलाई बिहीबार मन्त्रालयले जरुरी सूचनामार्फत निर्देशन जारी गरेको छ।

काठमाडौं उपत्यकाभित्र काठमाडौं जिल्लामा पाँच, ललितपुर र भक्तपुर जिल्लामा चार/चार वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारवाहीलाई तीव्र बनाइएको छ। यसै प्रकारको अनुगमन टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लालाई समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म मास्क प्रयोग नगरी हिँड्ने चार लाख १९ हजार बढीलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ। अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६३५ वटा सवारीसाधन तथा १९ हजार ४८३ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा नागरिकबाट भइरहेको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबैबाट थप सकारात्मक सहयोगको लागिसमेत मन्त्रालयले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad