रुसले संसारमै सबभन्दा पहिले आफूले बनाएको कोरोना खोप सफल भएकाेबारे विभिन्न देशका वैज्ञानिकले व्यक्त गरेको शंका ‘पूरै निराधार’ भन्दै खण्डन गरेको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोनाविरुद्धको खोप हरेक परीक्षणमा खरो उत्रिएको र विश्वमा पहिलाे भएकाे घोषणा गरेका छन्। यसलाई आफ्नाे देशकाे स्वास्थ्य मन्त्रालयले मान्यता दिइसकेकाे जानकारी दिएका छन्।
तर विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकले यति चाँडै खाेप कसरी बन्छ भनेर शंका गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि आफूले जारी गरेको ‘गाइडलाइन’ पालना नगरेको तथा यसबारे आफूलाई जानकारी नभएको बताइरहेको छ।
यस विषयमा बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्काेले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ- हाम्रा विदेशी साथी रुस चिकित्सामा अगाडि बढ्न खोजेकामा चिन्तित छन् र त्यस्ताे शंका गरेका छन्। जुन कुरा एकदमै निराधार हो।’
रूसी अधिकारीले अक्टाेबरदेखि ठूलाे संख्यामा खाेप लगाउन सुरु गरिने बताएका छन्।
विश्व स्वास्थ्य संगठनले यस विषयमा समीक्षाका लागि रूसी अधिकारीसँग सम्पर्क गर्ने प्रयास गरिरहेकाे जनाएकाे छ।
विश्व स्वास्थ्य संगठनले हाल ६ वटा खाेपकाे निगरानी गरिरहेकाे छ, जसमा रुसले बनाएकाे खाेप समावेश छैन। एजेन्सी
याे पनि : रुसले आफूले बनाएको कोरोना खोप सफल भयो त भन्यो तर...

प्रतिक्रिया