छापा खबर


कोभिडले पारेकाे सकारात्मक प्रभाव : नेपालमा हालसम्मकै धेरै रोपाइँ

कोभिडले पारेकाे सकारात्मक प्रभाव : नेपालमा हालसम्मकै धेरै रोपाइँ

नेपालखबर
साउन २९, २०७७ बिहिबार ०:२०,

यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ।

गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भइसकेको खबर आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन्।

समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस (कोभिड–१९) ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ।’

मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको बन्दाबन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ।

बन्दाबन्दी भएका कारणले सहर बजारबाट धेरै मानिस गाउँघर पुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको प्रवक्ता केसीको भनाइ छ। उनका अनुसार अझै रोपाइँ जारी पनि छ र यो वर्ष ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुनसक्छ। नेपालमा भदौको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ।

मौसम र समयले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । देशमा ६६ लाख मेट्रिक टन धान उत्पादन भए देश धानमा आत्मनिर्भर हुने मन्त्रालयले स्पष्ट पारेको छ।

गत वर्ष कुल क्षेत्रफलको ९४.४३ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad