समाज


तीन दिनदेखि बेपत्ता पत्रकार बलराम बानियाँको शव यसरी भयो पहिचान

तीन दिनदेखि बेपत्ता पत्रकार बलराम बानियाँको शव यसरी भयो पहिचान

नेपालखबर
साउन २८, २०७७ बुधबार १०:१८,

मंगलबार बिहान ६ बजे माण्डु हाइड्रोपावर कम्पनीका कर्मचारीले सिस्नेरी प्रहरी चौकीमा फोन गरेर एउटा शव फेला परेको जानकारी दिए।

भिमफेदी गाउँपालिका ८ दोभानवेशीस्थित वागमती नदीमा रहेको माण्डु हाइड्रोको हेडवर्क्स बकेटमा शव अड्किएको थियो।

हाइड्रो पावरले पानी छान्नका लागि प्रयोग गर्ने हेडवर्क्स बकेटमा अड्केका बस्तु कर्मचारीले हटाउँदै गर्दा शव फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरे।

यो खबर आएपछि सिस्नेरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पंकजकुमार झासहितको टोली त्यहाँ पुग्यो। असईले हेरेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरे।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेर शवको मुचुल्का गर्‍यो र शव लिएर करिव १ बजेतिर हेटौडा फर्कियो। शव कसको भनेर उनीहरुले खोजी सुरु गरे।

असई झाले वागमतीले बगाएर भिमफेदीसम्म पुर्‍याएको शव पहिचान गर्न काठमाडौंका केही युनिटलाई खबर गरेका थिए।

तर त्यसअघि नै काठमाडौंमा एकजना व्यक्तिले वागमतीमा हामफालेको हल्ला भइसकेको थियो।

बल्खूमा एकजनाले वागमतीमा हामफालेको भनी स्थानीयले प्रहरीलाई सोमबार दिउँसो पौने चार बजेतिर खबर गरेका थिए।

स्थानीयले वागमतीतर्फ जाँदै गरेका पुरुषको जुत्ता हिलोमा अड्किएको र जुत्ता छाडेर नदीमा हामफालेको जानकारी दिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले बताए।

खबर आउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले खोजि गरेका थिए। तर त्यतिबेलासम्म अध्याँरो भइसकेको हुँदा नदीमा हामफालेका भनिएका व्यक्ति त्यो दिन भेटिएनन्।

बुधबार बिहान पत्रकार बलराम बानियाँका परिवार र कान्तिपुर दैनिकको टोली काठमाडौं प्रहरी परिसर टेकू पुग्यो। उनीहरुले पत्रकार बानियाँ तीन दिनदेखि हराएको भन्दै खोजी गरिदिन निवेदन दिए।

निवेदनपछि प्रहरीले सीसीक्यामेरामा हेर्‍यो। त्यसमा उनी सोमबार अपरान्हको समयमा बल्खु पुगेको देखिए। त्यहीँबाट उनको मोवाइल फोन पनि सम्पर्कबिहिन भएको पाइयो। 

त्यसपछि परिसरले मकवानपुर प्रहरीलाई शव फेला परे नपरेको बारेमा जानकारी माग्यो। मकवानपुर प्रहरीले मंगलबार एक पुरुषको शव फेला परेको भन्दै फोटो पठायो।

फोटो हेरेर पत्रकार बानियाँको परिवारले उनकै शव भएको पुष्टि गरेसँगै बानियाँको शवको सनाखत भएको हो।

झण्डै तीन दशकदेखि पत्रकारितामा क्रियाशील बानियाँ कान्तिपुर प्रकाशनमा स्थापनाकाल देखि आवद्ध थिए।

बीचमा केहि वर्ष नागरिक दैनिकमा संलग्न रहेका बानियाँ फेरि एक दशकभन्दा बढि समयदेखि अहिलेसम्म पुनः कान्तिपुर दैनिकमै कार्यरत् थिए।

बानियाँ राजनीति, प्रशासनलगायत विषयमा निरन्तर रिपोर्टिङ गर्थे। राजनीति र समसामयिक विषयमा उनले सशक्त टिप्पणी पनि लेख्ने गरेका थिए।

पत्रकार महासंघको केन्द्रीय सचिव समेत भइसकेका बानियाँ हाल कान्तिपुर दैनिकमा सहायक सम्पादक पदमा कार्यरत् थिए भने यसअघि पनि उनले रिपोर्टिङबाहेक महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका हुन्।

बानियाँ २०२७ सालमा तनहुँमा जन्मिएका हुन्। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

याे पनि: 
कान्तिपुरका वरिष्ठ पत्रकार बानियाँ मकवानपुरमा मृत फेला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad