समाज


सीमामा छैन छेकबार, भारतीय नागरिक सहजै गर्छन् वारपार

सीमामा छैन छेकबार, भारतीय नागरिक सहजै गर्छन् वारपार

प्रकाश न्यौपाने
साउन २७, २०७७ मंगलबार ९:१३,

भैरहवास्थित देवकोटा चोकको एसआर कम्प्लेक्सभित्र रहेको न्यू कलेक्सन कस्मेटिक सेन्टरका सञ्चालक मनमोहन पटवा भारतीय नागरिक हुन्। नौतुनहवा घर भएका उनी दिनहुँ नेपाल आउँछन् र दिनभर व्यवसाय सञ्चालन गरी साँझ घर फर्किन्छन्।

सोही कम्प्लेक्समा रहेको न्यू रोयल इम्पेक्सका सञ्चालक इमरान सिद्धिकी पनि सुनौलीबाट सधैँ आउजाउ गर्छन्। नौतुनहवा घर भएका प्रहरीटोलमा रहेको विवाह कलेक्सनका सञ्चालक व्यापार खोल्न दिनहुँ आउजाउ गर्छन्। सीमामा उनीहरुलाई कुनै छेकवार छैन।

यी तीन प्रतिनिधि पात्र मात्रै हुन्। कोरोना भाइरसले महामारीको रुप लिइरहेको भारतबाट भैरहवा र आसपासका क्षेत्रमा व्यवसाय गर्दै आएका भारतीय नागरिक दिनहुँ आउजाउ गर्दासमेत प्रहरी प्रशासन मौन छ।

भारतीय नागरिक रोकावटविनै सीमा वारपार गर्छन्। सीमामा खटिने सुरक्षाकर्मीले उनीहरुलाई नेपाल प्रवेश सहजै दिन्छन्। कतिपय प्रहरीलाई छलेर आउजाउ गर्छन्।

‘भारतमा अहिले कोरोना संक्रमितको दर विश्वमै उच्च छ। त्यस्तो ठाउँका नागरिकलाई सीमामा सहजै आउजाउ गर्न दिँदा यसले भोलिका दिनमा विकराल स्थिति नल्याउला भन्न सकिँदैन। सीमामा कडाई गर्नैपर्छ’, भीम अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.नवीन दर्नालले भने।

भैरहवाबाट १०/१२ किलोमिटरको दूरीमा रहेको भारतको नौतुनहवामा मात्रै दैनिक एक सय बढी नागरिकमा कोरोना भाइरस पुष्टि भइरहेको छ। सीमा जोडिएको सुनौलीमा पनि कोरोना देखिइसकेको छ।

ती क्षेत्रका नागरिक दैन्निदित नेपाल प्रवेश गर्नुले रुपन्देही र आसपासका छिमेकी जिल्लामा समुदायस्तरमै कोरोना भयाभह त भएको छैन भन्ने आशंका उब्जिएको छ।

डा. दर्नाल भन्छन्, ‘पसलमा एउटै व्यक्तिसँग धेरैजनाको कन्ट्याक भएको हुन्छ। खरिदकर्ताहरु समुदायस्तरमा पुग्छन्। यदि पसलेलाई कोरोना लागेको भए समस्या झन् जटिल हुन्छ। त्यसैले व्यवसाय गर्ने र अन्य जुनसुकै भए पनि भारतीय नागरिकलाई वारीपारी गर्न तुरुन्त रोक्नुपर्छ।’

लकडाउन भएयता नाका सिल छ। भारतीय नागरिकलाई नेपाल प्रवेशमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ। मालबाहक गाडीमा पनि चालक र सहचालक मात्रै प्रवेश पाउँछन्। तर, रुपन्देहीका सीमा क्षेत्रका भारतीयहरु भने प्रहरीसँगको सेटिङ मिलाएर नेपाल आउजाउ गर्छन्। यस्तै, कतिपयले भन्सार एजेन्टको नक्कली परिचयपत्र बनाएर समेत नेपाल प्रवेश गर्ने गरेका छन्। प्रहरीको आँखा छलेर आउजाउ गर्ने झन् बढी छन्।

sima_pic_2.jpg

भैरहवा भन्सारमा काम गर्ने भारतीय एजेन्टलाई भन्सार विन्दुसम्म मात्रै आउजाउ गर्न दिने सहमति छ। यसैको मौकामा उनीहरु भैरहवा, बुटवलका बैंक तथा व्यापारीकहाँ पुग्ने गर्छन्।

एउटाको परिचयपत्र अर्कैले बोकेर नेपाल प्रवेश गर्ने पनि उत्तिकै छन्। यसरी जथाभावी नेपाल प्रवेश गर्ने भारतीयहरु कहाँकहाँ पुगे, कोकोसँग भेटघाट गरे, कति फर्किए, कति फर्किएनन् भन्ने रेकर्ड नै राखिँदैन। यसले झनै जोखिम बढाएको छ।

स्थानीयले सीमामा भइरहेको फितलो सुरक्षाले गर्दा रुपन्देही कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।

‘मुख्य नाकाबाटै कैयन् भारतीय आउजाउ गर्छन्। सुरक्षाकर्मीले सीमामा कहिले अलि कडा गर्छन्, कहिले फितलो बनाउँछ, जुन हिसाबले कडाई गर्नुपर्ने हो, त्यसो हुनसकेको छैन’, बेलहियाका स्थानीय नर्जुन गुरुङले भने, ‘भारतीय सहजै आउजाउ गर्दा हामी सीमा क्षेत्रका नागरिक बढी जोखिममा छौं।’

उनले भारतीय नागरिक बढी मात्रामा आउजाउ गर्ने क्रम बढेपछि इलाका प्रहरी कार्यालय बेलहियाको ध्यानकर्षण गराइसकेको बताए।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीमामा कडाई गरिएको दाबी गर्दै सुरक्षा व्यवस्थालाई थप कडाई गर्न आफूले निर्देशन दिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad