ad ad

समाज


बाढीले पुल बगाएपछि अवरुद्ध सडक आठ दिनपछि सञ्चालन

बाढीले पुल बगाएपछि अवरुद्ध सडक आठ दिनपछि सञ्चालन

नेपालखबर
साउन २०, २०७७ मंगलबार ४:३१,

चितवनको इच्छाकामना-७ स्थित हरिपुरखोलाले पुल बगाएपछि अवरुद्ध बनेको सडक आठ दिनपछि सञ्चालनमा आएको छ। बाढीले पुल बगाउँदा साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो।

सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी सोमबारदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्।

तत्काल काम शुरु गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहुँदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उनले बताइन्। अध्यक्ष भनिन्, ‘बाढीले पुल बगाउनेबित्तिकै हामीले सडक निर्माण शुरु गरेका हौँ, एक/दुई दिनमा सक्ने लक्ष्यका साथ काम गरेका थियौँ। तर आवश्यक सामग्री समयमा उपलब्ध भएन, बाढी पनि पनि निरन्तर आइरह्यो। आठ दिनमा सडक सञ्चालन गर्न सफल भएका छौँ।’

नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले बताइन्।

बाढीले पुल बगाउँदा इच्छाकामना-७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब १५ सय घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो।

पुल बाढीले बगाउँदा बिरामीलेसमेत निकै दुःख पाएका वडाध्यक्ष बमबहादुर रानाले बताए। उक्त स्थानमा अस्थायी बाटो निर्माणका लागि करिब १३ लाख खर्च भएको गाउँपालिकाका प्राविधिक भरत गुरुङले जानकारी दिए।

अस्थायी बाटो निर्माण भएसँगै इच्छाकामना-७ का नागरिकलाई आवतजावतमा सहज भएको छ। उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला सवारी साधन चल्ने गर्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .