पर्सामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।
संक्रमित हुनेमा १४ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरूष र ६ जना महिला छन्।
जसमा तीन जना नेपाली सेना, एक पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका एक थुनुवा र दुई जना स्वास्थ्यकर्मी छन्।
योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ पुगेको छ। पर्सामा अहिलेसम्म संक्रमणको कारण १० जनाले ज्यान गुमाइसकेका छन्।
संक्रमण तीब्र बनेपछि पर्सामा एक सातादेखि निषेधाज्ञा लागू गरिएको छ। समुदाय स्तरमै संक्रमण फैलिएपछि पर्सासँग सीमा जोडिएको बारा जिल्लामा पनि विगत दुई दिनदेखि निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया