समाज


प्रहरीकै मिलेमतोमा भित्रिँदै भारतीय गाडी, सीमा क्षेत्रमा संक्रमणको उच्च जोखिम

प्रहरीकै मिलेमतोमा भित्रिँदै भारतीय गाडी, सीमा क्षेत्रमा संक्रमणको उच्च जोखिम

प्रकाश न्यौपाने
साउन ११, २०७७ आइतबार १०:२३,

सीमामा खटिएका प्रहरीसँगको मिलेमतोमा भारतीय नम्बर प्लेटका निजी कार तथा मोटरसाइकल लिएर त्यहाँका नागरिक नेपाल प्रवेश गरिरहेका छन्। कोरोनाको सन्त्रासले ४ महिनासम्म गरिएको लकडाउन हालै हटाइएपनि अन्तर्राष्ट्रिय नाका भने बन्द छन्। तर, प्रहरीको मिलेमतोमा भारतीय क्षेत्रबाट सवारी साधन लिएर भारतीय नागरिक निर्बाध नेपाल भित्रिरहेका छन्।

सरकारले भारतमा रोजगारी गर्न गएका नागरिकलाई लकडाउनका बेला स्थानीय तहको जिम्मा लगाउने गरी नेपाल प्रवेश दिएको थियो। अहिले पनि आफ्ना नागरिकलाई नेपाल प्रवेश दिइन्छ। भारतीय नागरिक र निजी सवारीलाई भने पूर्ण प्रतिबन्ध छ।

प्रहरीको सेटिङमा भारतीय नागरिकले निजी सवारी लिएर रुपन्देहीका मुख्य सहरहरु घुमिरहेका छन्। नेपालतर्फ व्यवसाय गर्ने भारतीयहरु पनि दिनहुँ वारीपारी गर्छन्। यसरी खुलमखुल्ल भारतीयहरु नेपाल प्रवेश गर्दा यहाँका बस्तीहरु कोरोना भाइरसको उच्च जोखिममा परेका छन्।

indian-gadi_2.jpg

कोरोनाका कारण सीमा शील भएपछि भैरहवा भन्सार कार्यालयले मालबाहक बाहेकका भारतीय नम्बर प्लेटका मोटरसाइकल र कारको भन्सार सुविधा दिएको छैन। सरकारले नै भारतीय नागरिक र निजी सवारी प्रवेशमा रोक लगाएपछि सुविधा काट्न छाडिएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताए।

जिल्लाका सीमावर्ती क्षेत्र धकधई, लुम्बिनी, मर्चवार र भैरहवालगायतका क्षेत्रमा भारतीय नागरिकले नै भारतीय नम्बर प्लेटका कार तथा मोटरसाइकल निर्वाधरुपमा चलाउँदै आएका छन्।

‘हामीले चैत्र ११ गतेदेखि नै भारतीय नम्बर प्लेटका निजी सवारीलाई नेपाल प्रवेश दिएका छैनौं’, भट्टराईले भने, ‘गाडी चलाउनका लागि भन्सारले दिँदै आएको सुविधै बन्द गरिएको छ । यस्तो अवस्थामा पनि कसरी विना सुविधा भारतीय निजी सवारी नेपाल प्रवेश गरे? प्रहरीले के हेर्दै छ?’

अहिले भारतमा तीव्र रुपमा कोरोना भाइसरको संक्रमण फैलिइरहेको छ। तर नेपाल प्रहरीसँगको सेटिङमा भारतीय नागरिक निजी सवारी लिएर धमाधमा नेपाल भित्रीरहेका छन्। यसले रुपन्देही उच्च जोखिममा परेको छ।

लकडाउन भएयता नै सीमा क्षेत्रमा खटिने प्रहरीहरुले भारतीय गाडी प्रयोग गर्दै आएका छन्। यूपी ५३ बीडी ३१४४ नम्बरको कार प्रहरी जवान जितेन्द्र कोहाँरले प्रयोग गर्छन्। यस्तै, यूपी ५६ एसी ४६१२ नम्बरको मोटरसाइकल, यूपी ५६ एएच७०८२ र यूपी ५६ एई २००८ नं. को स्कुटर पनि प्रहरीले नै प्रयोग गर्दै आएका छन्। स्रोतका अनुसार एक सय बढी प्रहरीहरु भारतीय नम्बर प्लेटका गाडी चढ्छन्।

अहिले सीमा क्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकांश जवान, हवल्दार, सई, असई लगायतले भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्छन्। प्रहरीले तस्करहरुसँगको सेटिङमा यी गाडीहरु नेपाल ल्याई आफूले प्रयोग गर्छन् भने भारतीय नागरिकलाई तस्करी गर्नमा सहयोग गर्दै आएका छन्।

भारतीय तस्कर, भन्सारमा काम गर्ने दलालहरु पनि बुटवल भैरहवाका बजारहरु घुमिरहेका छन्। रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले भारतीय गाडी प्रयोगमा पूर्ण रोक लगाइए पनि कताकती बजारमा देखिने गरेको स्वीकार गरे। उनले त्यस्ता गाडीहरु देखिए नचलाउन निर्देशन दिइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad