ad ad

समाज


धौलीगंगा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम

धौलीगंगा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम

नेपालखबर
साउन ८, २०७७ बिहिबार ८:३०,

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६ः४५ बजेसम्म खोलिने भएको हो।

पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिंग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए। बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्यास गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ। दार्चुला र बैतडीसाथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ। विसं २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौको क्षति भएको थियो।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ। सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाँध खोलिनेबारे जानकारी गर्दै आइरहेको छ। यसअघि गत असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .