बुधबारदेखि वर्षा केही कम भए पनि बाढीपहिरोको जोखिम भने उस्तै रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो हप्ताको तुलनामा अरू तीन दिन वर्षा केही कम हुने सम्भावना छ।
‘तर मनसुनको बेला हो, वर्षा त भइरहन्छ,’ बिहीबार बिहान नेपालखबरसँग उनले भने, ‘केही मत्थर मात्र भएको हो, बाढीपहिरोको जोखिम रहिरहन्छ, सतर्कता अपनाउनैपर्छ।’
उनका अनुसार न्यून चापीय रेखाको पश्चिमी भाग मात्र नेपालदेखि केही दक्षिण (टाढा) सरेकाले त्यसतर्फ वर्षा केही कम भएको हो। पूर्वतर्फ भने यो रेखा नजिक नै छ। तसर्थ गण्डकीदेखि पूर्व भने तुलनात्मक रूपमा बढी वर्षा हुने सम्भावना छ।
माैसमविद्का अनुसार मनसुनी न्यून चापीय रेखा भनेकाे वर्षा गराउने एउटा माैसमी प्रणाली हाे। जुन नेपालकाे जति नजिक हुन्छ उति वर्षा पनि बढ्छ। याे रेखा दक्षिणतिर सर्दा भारतमा वर्षा बढी हुन्छ भने नेपालमा कम हुन्छ।
तर पनि अघिल्लो हप्ताजस्तो लगातार वर्षा नभएर कहिले रोकिने, घाम पनि लाग्ने उनको अनुमान छ। उनका अनुसार अहिले पनि गण्डकी, बागमती र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ।
‘सुदूरपश्चिमका कतिपय स्थानमा अहिले घाम पनि लागेको छ,’ उनले भने, ‘तर दिउँसो वा बेलुका पुनः बदली भएर वर्षा हुन्छ।’
मौसमविद् पौडेलका अनुसार मनसुनका बेला वर्षामा उतारचढाव आइरहन्छ। कहिले अलि कम त कहिले अलि बढी तर मनसुन नसकिँदासम्म वर्षा भइरहन्छ। ‘अहिले तल सरेको न्यून चापीय रेखा फेरि माथि (नेपाल नजिक) पनि आउन सक्छ,’ उनले भने, ‘हामी दिनदिनै जानकारी गराइहाल्छौं।’
आज कता कता कस्तो वर्षा होला?
मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया