समाज


बाढीमा डुब्यो सप्तरीको तिलाठी, कहाँबाट बगेर आयाे ८/१० वटा शव?

बाढीमा डुब्यो सप्तरीको तिलाठी, कहाँबाट बगेर आयाे ८/१० वटा शव?

नानीमैया कटुवाल
असार ३०, २०७७ मंगलबार ३:१९,

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ।

स्थानीय खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ। बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानको चपेटामा परेका गाउँपालिकाले जनाएको छ।

लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए। पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ।

खाँडो खोलाको बाढीले करिब आठदेखि १० वटा शवसमेत बगाएर ल्याएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए। शवको कारण अत्यन्तै दुर्गन्ध फैलिएको मण्डलले बताए। शव ती शव कसकाे हाे र कहाँबाट बगेर आए खुलेकाे छैन। बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत नोक्सान गरेको छ।

भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ। राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ। भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीको लाखौँको क्षति भएको छ।

खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ।

बर्सेनि करौडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन।

बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ।

खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदी तटिय गाउँहरु हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेका छन्। सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी र बेल्ही नै हो।

यसैगरुी बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ।

लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताए। खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ।

बलान खोलामा आएको बाढीले बर्सेनि ५०/६० बिघा खेत कटान गर्ने गरेको र १२/१३ वर्षको अवधिमा ७०० बिघाभन्दा बढी जमीन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताउछन्।

धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने स्थानीय उमेश यादवले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad