समाज


जाजरकोटमा ९ शव भेटिए, बाढी पहिरोले ५ सय परिवार विस्थापित

जाजरकोटमा ९ शव भेटिए, बाढी पहिरोले ५ सय परिवार विस्थापित

हेमन्त केसी
असार २८, २०७७ आइतबार १:५४,

पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सय भन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीपहिराेमा बेपत्ता नाै जनाकाे शव फेला परेकाे छ।

घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए।

वडा नम्बर १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन्। त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन्।

विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। सिंहका अनुसार पाँच सय भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जङ्गलमा बसेका छन्। खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन।

सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले बताए।

पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ। तीन बेपत्ता छन्।

बेपत्ताको खोजीकार्य जारी रहेको वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र सर्वसाधारण बेपत्ताको खोजीमा जुटेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ।

राहत लिएर काठमाडौँबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।

नौ जनाको शव भेटियो
बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ।

त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि शव फेला परेको छ। बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएको छ।

यसैबीच बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ। पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिए।

सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुका लागि खानेकुरा नहुँदा भोकभोकै बस्न बाध्य छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad