समाज


सलहको नयाँ झुण्ड नेपाल आउँदै, विज्ञ भन्छन्: सतर्कता अपनाऔं

सलहको नयाँ झुण्ड नेपाल आउँदै, विज्ञ भन्छन्: सतर्कता अपनाऔं

नेपालखबर
असार २८, २०७७ आइतबार १:२७,

सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै विज्ञले सचेत गराएका छन्।

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलहको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको भन्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

केन्द्रका अनुसार भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा अहिले सलहको नयाँ झुण्ड छ। त्यहाँ करिब एक सय ५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड छन्।

यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी, मुजफ्फरपुर र दरभंगा आसपासको क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ।

केन्द्रले सूचना निकालेर झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको हो।

‘ती झुण्ड एक/दुई दिनभित्रै महोत्तरी, धनुषा, सर्लाही लगायतका तराईका जिल्ला हुँदै नेपाल प्रवेश गर्ने सम्भावना छ,’ केन्द्रको सूचनामा भनिएको छ। त्यसैगरी भारतकै राजस्थानका विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि दुई/तीन दिनभित्र प्रदेश पाँच र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ।

यसअघि १४ असारमा सलहका विभिन्न झुण्ड भारत हुँदै नेपाल प्रवेश गरेका थिए। कतिपय ठाउँमा सलहले बालिनाली खाएर सखाप पारेको थियो। तर पछि मौसम प्रतिकूल हुँदा सलह भागेका थिए भने केही मरेका थिए।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीका अनुसार सुरुमा आएको सलह आफैँ हराउँदै गएको छ। असार दोस्रो साता नेपाल आएको सलहले खासै धेरै नोक्सानी नगरे पनि भारतको पटना, दरभंगा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने केसीले बताए।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले भारतको राजस्थानका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा रहेका सलहका झुन्ड दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढिरहेको बताए। ‘त्यो झुन्ड नेपाल छिर्नसक्ने सम्भावना पनि बढ्दै गएको छ,’ उनले भने।

पानी निरन्तर पर्‍याे भने सहलले नेपाल प्रवेश गर्न नसक्ने तर पानी पर्न बन्द भयो र अहिलेको जस्तो हावाको चाप रह्यो भने नेपाल प्रवेश गर्ने ठूलो सम्भावना रहने केन्द्रले जनाएको ।

768x994

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad