कोभिड-१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ।
विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ। मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो। पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन।
सिन्धुपाल्चोक जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिए पनि ठूलो क्षति हुन पुग्यो। विपद् जोखिम व्यवस्थापन विज्ञ डा.कृष्ण देवकोटाका अनुसार एकैठाउँमा धेरै पानी पर्दा नसोचेको क्षेत्रमा ठूलो क्षति भएको हो।
मुलुकभर जेठ ३१ पछि शुक्रबारसम्म चट्याङबाहेकको ठूला घटनामा ४४ जनाले ज्यान गुमाएसकेका छन् भने ५४ जना बेपत्ता छन् । सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ।
मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाए। जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो। असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा छ जनाले ज्यान गुमाए।
बिहीबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ । त्यहाँ दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्।
शुक्रबार साँझसम्मको विवरण अनुसार म्याग्दी, लमजुङ, कास्की, जाजरकोटलगायत जिल्लामा गए राति आएको भारी वर्षासँगै पहिरो खस्दा २३ जनाले ज्यान गुमाएका छन् भने ३४ जना बेपत्ता छन्। कास्कीको सराङ्कोटमा त जन्मदिन मनाउने क्रममा नै पहिलो खसेर घर पुरेको छ।
सिन्धुपाल्चोकको घटना होस्, या पर्वत र बझाङमा भएका सबै ठूला घटनाको मूल कारण भने भेल पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। एकै ठाउँमा ठूलो पानी पर्दा निकास व्यवस्थापन नभएर अकल्पनीय रुपमा घटना घटेको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालिको पहिरोका घटना अकल्पनीय रहेको बताउँछन्। नसोचेको घटनाले ठूलो क्षति पुगेको छ।
मुलुकभर बिहीबारदेखि चार दिन लगातार भारी वर्षा भई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पूर्वानुमान गरिएको पहिलो दिनमा नै विभिन्न स्थानमा जनधनको क्षति हुने गरी बाढी पहिरो गएको छ । तराईका क्षेत्रमा डुबान शुरु भएको छ भने मुलुकका ठूला नदीमा पानीको बहाब ह्वात्तै बढेको छ।
प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यो चारदिन कष्ट सहेरै भए पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गर्छन्। सार्वजनिक सूचना जारी गर्दा गर्दै पनि जनधनको ठूलो क्षति भएको छ । कतिपयले भने अटेर गरेकाले घटना भएको पाइएको छ।
अहिले देशभर मनसुन सक्रिय भएसँगै भारी वर्षा हुँदा मुलुकका नदी ह्वात्तै बढेको छ । तराई क्षेत्र डुबान र पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोका घटना देखिएको छ । अझै वर्षा जारी रहेको र जमिन गलिसकेकाले थप क्षति पु¥याउने अनुमान गरिएको छ।
विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा धेरै वर्षा मापन गरिएको छ । त्यहाँ २५०.९ मिलिमिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ । त्यस्तै दरबाङ स्टेशनमा १५०.६, खुदीमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर वर्षा भएको छ। यो अत्यधिक वर्षा हो।
सप्तकोशीमा बाढी बढेपछि भारतर्फका ३८ ढोका खोलिएका छन् । कोशी सतर्कता तहतर्फ अघि बढेको छ । सातमिटर खतराको तह रहेको कोशीको जलसतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ। मध्य क्षेत्रमा रहेको नारायणी नदीको बहावले सतर्कताको तह पार गरेर खतरातर्फ अघि बढेको जनाइएको छ । देवघाटस्थित स्टेशनमा पनि सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ।
अबको तीन दिन कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा प्रदेश १ र २ मा वाग्मती, गण्डकी र प्रदेश ५ भई बग्ने मुख्य र सहायक नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्र र समथल तथा तल्लो तहमा सतर्कता अपनाउन मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विभिन्न क्षेत्रमा हजारौँको एसएमएस पठाएर सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया