समाज


५० प्रतिशतसम्म बढी भाडा लिनेगरी आजदेखि चल्दैछन् सार्वजनिक सवारी साधन, यस्ता छन् नियम

५० प्रतिशतसम्म बढी भाडा लिनेगरी आजदेखि चल्दैछन् सार्वजनिक सवारी साधन, यस्ता छन् नियम

नेपालखबर
असार २६, २०७७ शुक्रबार १:२६,

साढे तीन महिनापछि आज (शुक्रबार) देखि देशैभरी सार्वजनिक यातायात सञ्चालनमा आउँदैछन्।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गएको ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो। त्यसको तीन दिन अघि (चैत ८) देखि नै सार्वजनिक यातायात बन्द भएका थिए।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिएका हुन्।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

अब काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निर्वाध रुपमा सार्वजनिक सवारी सञ्चालन हुनेछन्। देशका अन्य जिल्लाको हकमा भने सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ। उपत्यकाबाहेक अन्य जिल्लाका हकमा भने एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन।

मन्त्री खतिवडाका अनुसार सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जना मात्र बस्न पाउने, यात्रुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र सावारी साधनको ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ।

सरकारले छोटो दूरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दूरीको सवारी चलाउन अनुमति दिएको छैन।

सरकारी निर्णयअनुसार अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने छ। सिट क्षमता आधा मात्र प्रयोग हुने भएपछि भाडादर भने दोब्बर बढाइएको छ।

आजदेखि सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुँदैछ। बसमा ५० प्रतिशत भाडा वृद्धि भए पनि ट्याक्सीको भाडा भने बढाइएको छैन। ट्याक्सीले बढी भाडा लिन नपाउने प्रवक्ता खतिवडाले जनाए।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ। एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त गर्नुपर्नेछ।

सरकारले ट्याक्सीको हकमा भने चालकबाहेक दुई जनासम्म यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । एउटै परिवारका सदस्य भएको खण्डमा भने ५ वर्षमुनिका बालबालिकालाई अभिभावकसँगै राख्न पाइने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad