समाज


सार्वजनिक सवारी साधन जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइने, यस्ता छन् मापदण्ड

सार्वजनिक सवारी साधन जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइने, यस्ता छन् मापदण्ड

नेपालखबर
असार २५, २०७७ बिहिबार १३:२०,

सरकारले सम्बन्धित जिल्लामा मात्रै चलाउन पाउने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने मापदण्ड बनाएको छ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने गरी सार्वजनिक सवारी सञ्चालन गर्न लागिएको हो।

मापदण्ड अनुसार यात्रुबाहक सार्वजनिक यातायातमा चालकसहित सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहनेछन्। एक पङ्‌क्तिको सिटमा सामाजिक दूरी कायम हुने गरी १ जना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्ने उल्लेख छन्।

यो व्यवस्था लागू रहँदासम्मका लागि मात्र भन्दै ट्याक्सीबाहेकका अन्य सवारी साधनले तोकिएको भाडा दरको पचास प्रतिशतसम्म थप भाडा लिन पाउने व्यवस्था गरिएको छ।

यस्तै, उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन पनि सोही मापदण्डका आधारमा सञ्चालन हुन पाउनेछन्।

यसैगरी, जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधनमा चालकबाहेक थप २ जनासम्म र परिवारभित्रका ५ वर्षसम्मका बालबालिका मात्र सवार हुने गरी जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी मोटरसाइकल चलाउन पाइनेछ। यसअघि मोटरसइकलमा दुई जना बस्न नपाइने नियम लगाइएको भएपनि व्यवहारिक नभएको भन्दै सरकारको आलोचना भएको थियो।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने गरी चालकबाहेक बढीमा २ जनासम्म र परिवारभित्रका ५ वर्षसम्मका बालबालिका मात्र सवार हुने गरी ट्याक्सी सञ्चालन हुनेछन्।

सरकारले यथास्थितिकाे लकडाउनलाई थप परिमार्जन गरी आगामी साउन ६ गतेसम्म  जारी राख्ने निर्णय पनि गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .