समाज


पहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध

पहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध

नेपालखबर
असार २५, २०७७ बिहिबार ५:०,

अविरल वर्षापछि पहिरो जाँदा देशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएको छ।

गएराति भएको वर्षासँगै पहिरो जाँदा मकवानपुर, लमजुङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

काठमाडौंलाई हेटौंडासँग जोड्ने छोटो मार्ग बल्खु कुलेखानी हेटौंडा सडक बिहीबार बिहानैदेखि अबरुद्ध छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि यो सडक भएर बिहीबार बिहानैदेखि गाडी चलेका छैनन्। विस्तारको क्रममा रहेको कुलेखानी भीमफेदी सडक खण्डमा सानो पानी पर्दा पनि पहिरो खस्ने गरेको छ। पहिरो ठूलो भएकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

त्यसैगरी अविरल वर्षाले पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडक पनि अवरुद्ध भएको छ। लमजुङको बेँसीशहर नगरपालिका–७ र मस्र्याङ्दी गाउँपालिकामा पर्ने खरखरे भिरमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

६५ किलोमिटर लामो यो सडकमा पर्ने बेँसीशहरको पुवाखोलामा गरिएको ढलान पनि बाढीले भत्काएको छ। स्थानीय खरखरे भिरमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जीनियर सुमन अधिकारीले जानकारी दिए।

पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने भएकाले कति बेलासम्म सडक सञ्चालनमा आउँछ भन्ने निश्चित छैन। सडक अवरुद्ध भएपछि यो सडक भएर कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन्।

त्यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पनि बाढी पहिरोले सडक अवरुद्ध भएको छ। गएराति गएको बाढी पहिरोले बाह्रबिसेमा ठूलो धनजनको क्षति भएको छ।

बाढी पहिरोले सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोशी आयोजनामासमेत ठूलो क्षति पुगेको छ।

स्थानीय खहरेमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुगेको आयोजना प्रमुख सुनिल लामाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad