सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ स्थित खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। अझै १८ जना बेपत्ता रहेको स्थानीयले बताएका छन्।
सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार राति १ बजे यल्माे खाेलामा आएको बाढीले बगाउँदा दुई जनाको शव भेटिएको र अन्य १८ जना बेपत्ता रहेको जानकारी स्थानीयले दिएका छन्।
‘प्रहरी टोली घटनास्थल जाँदै छ,’ डीएसपी काफ्लेले बिहीबार बिहान नेपालखबरसँग भने, ‘स्थानीयले जानकारी गराएअनुसार दुई जनाको शव भेटिएको छ, अरु १८ जना बेपत्ता छन्।’
अरनिको राजमार्गकाे खाकदलदेखि बाटाे भत्किएका कारण प्रहरीसहितकाे उद्धार टाेलीलाई घटनास्थल पुग्न कठिनाइ भएको प्रवक्ता काफ्लेले जानकारी दिए।
स्थानीयका अनुसार बाढीले बाह्रबिसे नगर गातिको जम्बु बजारै बगाएको हाे। पुलसहित बजार चुर्लुम्मै डुबेको छ।
जम्बुका २० वर्षीय नीकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीयले फेला पारेका छन्।

प्रतिक्रिया