समाज


पहिलोपटक महिनावारी हुँदा सात दिनसम्म लुक्छन् किशोरी

 पहिलोपटक महिनावारी हुँदा सात दिनसम्म लुक्छन् किशोरी

विमलबहादुर विष्ट
असार २३, २०७७ मंगलबार २:१३,

सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात् रजस्वला हुँदा किशोरीले सात दिनसम्म लुकेर बस्नुपर्ने बाध्यता कायमै छ।

पहिलोपटक अविवाहित किशोरी महिनावारी भएको समयमा अलग्गै सुत्नुपर्ने र सात दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने बाध्यता रहेको डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय तुलसी शाहीले बताइन्।

महिनावारी अर्थात् रजस्वला भएको शुरुको दिनदेखि सात दिनसम्म अलग बस्नुलाई सुदूरपश्चिम प्रदेशमा छाउ बार्ने भनिन्छ। यहाँका नौवटै जिल्लामा महिनावारी भएका महिलालाई छुवाछूतका रूपमा हेरिँदै आएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका अधिकांश महिला छाउपडी प्रथाका कारण बर्सेनि मृत्युको शिकार हुन बाध्य छन्।

अविवाहित किशोरीहरु पहिलोपटक महिनावारी भएपछि कसैलाई अनुहार नदेखाउने, अलग्गै लुकेर बस्ने र सात दिनपछि घरका मान्छेले नयाँ लुगाकपडा दिएपछि मात्रै अनुहार देखाउने चलन रहेको दिपायल पिपल्लाकी सविता बलायरले बताइन्। ‘अविवाहित किशोरी महिनावारी भए कसैलाई अनुहार देखाउनुहुन्न, देखाए सबै काम बिग्रिन्छ भन्ने अन्धविश्वासका कारण यहाँका महिला पहिलोपटक लुकेर बस्ने चलन कायमै छ,’ उनले भनिन्।

यतिमात्र होइन महिनावारी भएको बेला दूध, दही, घ्यू खानाले गाई, भैँसी बिग्रिने अर्थात् क्षति हानी–नोक्सानी हुने भन्दै महिलालाई उक्त चिज खान नदिने, सार्वजनिक धारामा नुहाउन नदिने, महिनावारी भएका महिलाले छोएको नखाने आदि चलन रहेको स्थानीय बताउँछन्।

महिनावारी भएकी महिलाले अथवा किशोरीले छ देखि सात दिनसम्म अरु मानिस, बोटबिरुवा, गाईगोरु छुन नहुने, पानीका मूल छोए सुक्ने अन्धविश्वास पनि कायमै रहेकाले उनीहरु त्यो समयमा खासै घरबाहिर ननिस्कने केआइसिंह गाउँपालिका–६ का शिक्षक जगत्बहादुर बलायरले बताए।

सुदूरपश्चिम प्रदेशमा महिनावारी भएका बेला घरदेखि टाढा गोठमा एक्लै सुत्नुपर्दा उनीहरू बर्सेनि सर्पदंश, जङ्गली जनावर तथा बलात्कारको शिकार हुँदै आएको विभिन्न तथ्याङ्कले देखाएको छ।

आमा महिनावारी भएको बेला महिलाले चार÷पाँच वर्षमुनिका बालबालिका आफूसँगै राख्नुपर्ने र त्यो समयमा बालबालिकालाई दूध, दही, घ्यूजस्ता पोषिलो खाना खान नपाउने नियम रहेकाले यहाँका बालबालिका निमोनिया र कुपोषणको उच्च जोखिममा रहने गरेको पाइएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए।

‘पोषणयुक्त खानाको कमी र छाउपडी सुत्ने ठाउँमा हुने चिसोले बच्चामा निमोनिया देखिन्छ, बच्चाको स्वास्थ्य नाजुक हुने भएकाले पोषिलो खानेकुरा नपाउँदा उनीहरुलाई समस्या हुने गरेको छ,’ उनले भने।

छाउपडी प्रथा अन्त्यका लागि सुदूरपश्चिममा लामो समयदेखि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले काम गरिरहेको भए पनि यहाँका ग्रामीण क्षेत्रमा यो प्रथा खासै हट्न नसकेको स्थानीयवासी बताउँछन्।

सरकारले छाउपडी प्रथा अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित छाउगोठ भत्काउने अभियान चलाउनुका साथै कानूनसमेत बनाए पनि त्यसको खासै कार्यान्वयन नहुँदा यहाँका महिलालाई निकै समस्या हुँदै आएको छ।

सरकारले यहाँका विभिन्न जिल्लामा बनेका छाउपडी गोठ भत्काउने अभियान सञ्चालन गरे पनि कोरोना भाइरसको त्रास फैलिएपछि उक्त अभियान बन्द अवस्थामा छ। विभिन्न रूढिवादी परम्परा तथा अन्धविश्वासले यहाँको छाउपडी प्रथा अन्त्य हुन नसकेका कारण महिला तथा किशोरी बर्सेनि अकालमै ज्यान गुमाउन बाध्य छन्।

छाउपडी कुप्रथा बढी अँगाल्ने यहाँका पहाडी जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा कम्तीमा पनि दुई दर्जनभन्दा बढी महिला तथा किशोरीले छाउपडी गोठमै विभिन्न कारणले ज्यान गुमाइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

यतिमात्र नभई सार्वजनिक बाटोघाटो नजिक मन्दिर, देवालय हुँदा पनि महिनावारी भएका महिलाले बाटो काटेर अलग्गै हिँड्नुपर्ने बाध्यता ग्रामीण बस्तीमा अझै कामयमै छ । महिनावारी भएका छात्रा वर्षौँदेखि विद्यालयसमेत जाने गरेका छैनन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad