ad ad

समाज


बझाङका पहिरो पीडितलाई हेरेन सरकारले, विस्थापित १८ परिवारको विचल्ली

बझाङका पहिरो पीडितलाई हेरेन सरकारले, विस्थापित १८ परिवारको विचल्ली

गोकुल जोशी
असार २१, २०७७ आइतबार ५:२,

शुक्रबार राति अविरल वर्षासँगै गएको पहिरोमा परेर विस्थापित बझाङका १८ परिवारले अझै सरकारबाट राहत पाउन सकेका छैनन्। राहत अभावमा विस्थापित परिवार बिचल्लीमा परेका छन्।

बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा शुक्रवार राति गएको पहिराले विस्थापित भएका १८ परिवारले खाद्यान्न, लत्ताकपडा लगायतका केहि राहत नपाउँदा उनीहरुको बिजोग भएको हो।

पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। बेपत्ता अर्का एक जनाको भने खोजी कार्य जारी छ। यतिबेला पहिरो प्रभावित पूरै गाउँ शोकमा डुबेको छ।

पहिरोमा पशुचौपाया पनि पुरिएका छन् भने भौतिक सम्पत्ति पनि ठूलो मात्रामा क्षति भएको प्रहरीले जनाएको छ। पहिरोले धनजनसहित सर्वस्व गुमाएका १८ परिवारका १५० जना बिचल्लीमा परेका हुन्।

राहत नआउँदा पहिरोबाट प्रभावित परिवारको व्यवस्थापनमा समस्या भएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए । पहिरोले जनधनको ठूलो क्षति गरेपछि विस्थापित १८ परिवारमा खाना, बस्नमा समस्या भएको उनले बताए।

‘सदमुकामबाट प्रभावित क्षेत्रमा पुग्ने सडक र पैदल मार्गसमेत बाढीपहिरोले बगाएपछि लत्ता, कपडा, खाद्यान्न ल्याउन सकिएको छैन्,’ उनले भने, ‘प्रभावितलाई व्यवस्थापन गर्न गार्हाे‍ भएको छ।’

पहिरो प्रभावित १८ परिवारलाई स्थानीय नवादेव प्राथमिक विद्यालयको भवनमा राखिएको छ। पीडितहरु जसोतसो विद्यालय भवनमा बसे पनि खाना र ओड्ने बिछ्याउनेको अभाव छ। वडाध्यक्ष बोहोराका अनुसार प्रभावितहरुका लागि छरछिमेक, इष्टमित्रबाट लत्ताकपडा जुटाउने काम भइरहेको छ।

उता जिल्ला प्रशाासन कार्यालय बझाङले भने राहत सामाग्री प्रभावित क्षेत्रका लागि पठाइसकेको जनाएको छ।

‘घटनास्थलमा हेलिकप्टर ल्याण्ड गर्न नसकिने भएपछि राहत चैनपुरमा ल्याएको थियो, हिजो नै यताबाट गाडीमा राहत सामग्री पठाएका छौं,’ प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘प्रभावित क्षेत्रमा गाडी नजाने भएकाले पैदलै सामाग्री ओसार्ने काम भइरहेको छ।’

प्रजिअ भण्डारीका अनुसार ८ क्विन्टल चामल, ३७ थान त्रिपाल, ४० थान कम्बल प्रभावित ठाँउमा पठाएको छ।

पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयोग जेठारा, १३ वर्षीया छोरी अस्मीता, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको छ।

पहिरोमा बेपत्ता २२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले बताए। जनप्रतिनिधि, स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेका छन्।

पहिरोमा परेर स्थानीयका २२ वटा भैँसी, ६५ बाख्रा र २४ वटा गाईगोरु पनि मरेका वडाअध्यक्ष बोहराले बताए । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँका अरु घर पनि जोखिममा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .