समाज


गुल्मी पहिरो अपडेट : मृत्यु हुनेको संख्या दुई पुग्यो, एक जना अझै बेपत्ता

गुल्मी पहिरो अपडेट : मृत्यु हुनेको संख्या दुई पुग्यो, एक जना अझै बेपत्ता

नेपालखबर
असार १९, २०७७ शुक्रबार ५:४९,

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन्।

बिहीबार मध्यराति आएको पहिरामा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए।

पहिरोमा परी इस्मा– १ अन्तर्गत निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी ऋषिराम अर्यालले जानकारी दिए।

पहिरामा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले शुक्रबार बिहान ६ घण्टापछि जीवितै उद्धार गरेका थिए।

ढाँडफाँटमा गए राति बस्तीमाथिबाट पहिरो खसेको थियो। आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव आज बिहान खोला किनारमा फेला परेको थियो।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ। होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्कविहीन रहेको स्थानीयवासी रामबहादुर केसीले बताए। पहिरामा परी बालिकाका हजुरबुवा ६३ वर्षीय टीकाबहादु र मृतक बालकका आमाबुवासमेत गम्भीर घाइते भएका छन्।

गए राति १२ बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित बनेको बताइएको छ।

पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ। पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्धारमा समस्या परेको स्थानीयवासीले बताएका छन्। घटनाको जानकारी पाएपछि आज बिहानै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad