महिलालाई दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा बिहीबार राति एकजना वडाध्यक्ष पक्राउ परेका छन्।
रक्सीको सुरमा स्थानीय एक महिलालाई आपत्तिजनक व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष राम नाथलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर थापाले नेपालखबरसँग भने, ‘मदिराको मातमा महिलालाई दुर्व्यवहार गरेको आरोप लागेपछि हामीले वडाध्यक्षलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं।’
भीमदत्त नगरपालिका-९, ब्रह्मदेव बजारमा वडाध्यक्ष नाथले एक महिलालाई अपशब्द बोल्दै स्पर्श गरेको स्थानीयको आरोप छ।
घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो। वडाध्यक्षजस्तो मान्छेले महिलालाई दुर्व्यवहार गरेको भन्दै आक्रोशित स्थानीयले सीमा प्रहरी चौकी ब्रह्मदेव घेराउ गर्दै कारबाही माग गरेका थिए।
घटनापछि राति वडाध्यक्षलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी ब्रह्मदेवमा राखिएको थियो। अहिले वडाध्यक्ष नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याइएको छ।
प्रहरीका अनुसार वडाध्यक्ष नाथले भने आफूले कसैलाई दुर्व्यवहार नगरेको प्रारम्भिक बयान दिएका छन्। घटनाकाे अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।

प्रतिक्रिया