समाज


अनुसन्धानकर्ता भन्छन्ः कोरोना सार्ने भनेर चमेरो मार्न थालियो भने स्थिति झन् खराब हुन्छ

अनुसन्धानकर्ता भन्छन्ः कोरोना सार्ने भनेर चमेरो मार्न थालियो भने स्थिति झन् खराब हुन्छ

नेपालखबर
असार १७, २०७७ बुधबार ३:३८,

अहिले विश्वलाई नै तहसनहस बनाइरहेको कोरोना भाइरस कहाँबाट उत्पन्न भएको हो, अहिलेसम्म विश्वका कुनै वैज्ञानिकले ठोकुवासाथ भन्न सकेका छैनन्। तर धेरैजसो वैज्ञानिक यो भाइरस सुरुमा कुनै जनावरबाट मानिसमा सरेको विश्वास गर्छन्। तर कुन जनावर? अहिलेसम्म यो पत्ता लगाउन सकेका छैनन्।

तर यसबीच अनुसन्धानकर्ताले यो भाइरस सार्नेमा चमेरो तथा सालकलाई शंका गरेका छन्। यही कारण अस्ट्रेलियादेखि इन्डोनेसियासम्म ठूलो संख्यामा चमेरा मारिएको खबर आएका छन्। जसले विश्वभरिका वन्यजन्तु संरक्षणकर्मीलाई चिन्तित बनाएको छ।

यसै सन्दर्भमा चमेराबारे अध्ययनरत एक वैज्ञानिकले आफ्नो विचार सार्वजनिक गरेकी छन्। उनी हुन्, नाइजिरियन नागरिक इरोरो तान्सी, जो टेक्सस विश्वविद्यालयमा विद्यावारिधि गर्दैछिन्। उनी त्यस्ता वैज्ञानिकमध्ये एक हुन्,जसले चमेरोको नकारात्मक छवि सुधार्ने प्रयत्न गरिरहेकी छन्।

तान्सीका अनुसार कोभिड-१९ रोग निम्त्याउने कोरोना अर्थात् सार्स-कोभ-२ (वैज्ञानिक नाम) भाइरससँग ९६ प्रतिशत मिल्दोजुल्दो अर्को एउटा भाइरस एकखाले जंगली चमेरोमा पाइएकाले मानिसले चमेरोलाई दोष दिएका हुन्। तर चमेरोले यो भाइरस नसारेको वैज्ञानिक प्रमाण रहेको उनको दाबी छ।

हालैका अनुसन्धानले करिब ४०-७० वर्षअघि सार्स-कोभ-२ भाइरस जंगली चमेरोबाट अलग भइसकेको देखाएको उनको भनाइ छ। उनी भन्छिन्, ‘अनुसन्धालने चमेरोले मानिसमा सार्स-कोभ-२ भाइरस सिधा सारेका होइनन् भन्ने प्रमाण दिएका छन्।’

मासाई मारा विश्वविद्यालय केन्यामा वन्यजीव विज्ञान विषय पढाइरहेका डा. पोल डब्लु वेबाला पनि यसमा सहमत छन्।

उनी भन्छन्, ‘विकासवादी भाषामा भन्दा सार्स-कोभ-२ भाइरस चमेराबाटै मानिसमा आएको हो भने पनि त्यो सार्ने बीचमा कुनै तत्त्वको भूमिका हुनुपर्छ।’ यसको अर्थ यो भाइरसको उत्पादक चमेरो भए पनि उनीहरू स्वयंमले त्यसलाई मानिसमा सारेका हाेइनन्। 

मनिसमा भाइरस सार्ने सम्भावित माध्यम सालक भएको शंका गरिएको छ।

तान्सी र उनका सहकर्मी वैज्ञानिक कोरोना महामारीको दोष चमेरोलाई होइन, मानिसलाई नै लगाउनुपर्ने बताउँछन्। किनकि मानिसकै क्रियाकलापका कारण अहिले महामारी फैलिएको हाे।

वनजंगल अतिक्रण गरिएका कारण पहिले कहिल्यै सम्पर्क नभएका जीवजन्तुसँग मानिसको सम्पर्क स्थापित भएको र अनेक रोग फैलिएको उनको दाबी छ। यसर्थ चमेरो मारेर कोरोना भाइरसबाट बच्न नसक्ने वैज्ञानिक बताउँछन्। बरु चमेरोलाई सिध्याए अवस्था थप खराब हुने संरक्षणकर्मी चेतावनी दिन्छन्।

‘तपाईं सुतीको लुगा लगाइरहनुभएको छ, कफी वा चिया पिउनुहुन्छ वा मकैबाट बनेका खानेकुरा खानुहुन्छ भने तपाईं पहिलेदेखि नै चमेरोसँग जोडिनुभएको छ,’ डा. वाबेला भन्छन्, ‘खानेकुरादेखि सौन्दर्य सामग्रीसम्म र फर्निचरदेखि औषधिसम्म चमेरोको श्रमको आवश्यकता हुन्छ।’

उनका अनुसार चमेरो नभएको भए इन्डोनेसियामा डुरियन भनिने कटहरजस्तो फलको खेती हुने थिएन, मादगास्करमा आकर्षक बाओबाबका रूख हुने थिएनन्। न त त्यहाँ मखनाको खेती नै हुने थियो।

त्यस्तै चमेरोले चराको तुलनामा दोब्बर बढी बीउ फैलाउने गर्छन्। त्यसले जंगल विस्तारमा पनि सहयोग पुग्ने वैज्ञानिक बताउँछन्।

विभिन्न अध्ययनका अनुसार चमेरोका कारण कृषकले प्रयोग गर्ने विषादीको मात्रा घटाइदिँदा बालीमा क्षति कम भई अमेरिकामा मात्र अर्बाैं डलर जोगिने गरेका छन्। स्राेत: बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad