समाज


नर्भिक अस्पतालमा ७१ वर्षीया वृद्धाको घाँटीको दुर्लभ ट्युमरको शल्यक्रिया

नर्भिक अस्पतालमा ७१ वर्षीया वृद्धाको घाँटीको दुर्लभ ट्युमरको शल्यक्रिया

नेपालखबर
साउन ७, २०८३ बिहिबार १३:०, काठमाडौँ

नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ।

नर्भिक अस्पतालका न्युरोसर्जन डा‍ पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सकले ७१ वर्षीया वृद्धाको मस्तिष्कको धमनी वरपर रहेका नसाहरूबाट उत्पन्न भएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरेका हुन्। डा‍ भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो (ट्युमर) थियो।

शल्यक्रियामा डा. भण्डारीसँगै डा. पुरुषोत्तम बानियाँ र डा. समीर अर्याल संलग्न रहेका थिए। यस्तै एनेस्थेसियामा डा. सुरेश लामिछानेलगायतको चिकित्सकीय टोली सहभागी रहेको थियो।

चिकित्सकले असार २५ गते सात घण्टा लामो शल्यक्रिया विधिबाट बिरामीको ट्युमर निकालेका हुन्। ‘बिरामीको बायाँ घाँटीमा वर्षौँदेखिको ट्युमर बढ्दै–बढ्दै गएको अवस्था थियो,’ डा. भण्डारीले भने, ‘उहाँको ट्युमर निकालेर सफल उपचार गरेका छौँ।’

ट्युमरकै कारण बिरामीमा श्वासप्रश्वासको समस्या, अचेत हुने, शरीरको कुनै भाग बेलाबेलामा झम्झमाइरहने र टाउको हल्लाउँदा चक्कर लाग्ने लगायतका समस्या बढ्दै गएका थिए। वृद्धामा २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो। अन्य अस्पतालमा यसअघि नै दुईपटक सर्जरी गर्ने तय गरिए पनि विभिन्न कारणले उपचार गरिएको थिएन।

डा. भण्डारीका अनुसार बिरामीको घाँटीमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्याधिक भास्कुलर ट्युमर देखिएको थियो। यो मस्तिष्कको धमनी वरिपरि रहेका नसाहरूबाट उत्पन्न हुने एकदमै दुर्लभ ट्युमर हो। ट्युमरको उत्पत्ति, स्थान र ट्युमरको वरपरका संरचनाका कारण यस्तो ट्युमरको सर्जरी प्रक्रिया जटिल मानिन्छ।

नर्भिकमा उपलब्ध उच्चस्तरीय अप्रेसन थियटर, आईसीयूलगायत उपचार प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीको विज्ञताका कारण वृद्धाको उपचार सम्भव भएको अस्पतालले जनाएको छ। ‘मूल धमनीलाई नै बन्द गर्नुपर्ने स्थिति आएको खण्डमा, मस्तिष्कको रक्तसञ्चार कायम राख्न भर्टिब्रल आर्टरी बाइपासको तयारी गरिएको थियो। तर बाइपास गर्नुपर्ने अवस्था आएन,’ डा. भण्डारीले भने। 

शल्यक्रियापछि बिरामीलाई डा. प्रदीप तिवारीको नेतृत्वमा क्रिटिकल केयर टिमले आईसीयूमा राखेर निगरानी गरेको थियो। बिरामीको अवस्था सामान्य भएपछि शल्यक्रिया गरेको दुई दिनपछि बिरामीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। 

डिस्चार्जपछि बिरामी नियमित फलोअप जाँचका लागि साउन ५ गते अस्पताल आएकी थिइन्। वर्षौँदेखि घाँटीमा रहेको ट्युमर हटाएपछि अस्पताल र चिकित्सकलाई धन्यवाद दिएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad