समाज


महेन्द्र भवन माविको पुनरुत्थानका लागि काठमाडौँ महानगरसँग सम्झौता

महेन्द्र भवन माविको पुनरुत्थानका लागि काठमाडौँ महानगरसँग सम्झौता

नेपालखबर
साउन ७, २०८३ बिहिबार १२:३४, काठमाडौँ

काठमाडौँको सानो गौचरन क्षेत्रमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयको गुणस्तर सुधारका लागि पहल सुरु भएको छ। यसका लागि काठमाडौँ महानगरपालिका र विद्यालयबीच सम्झौता भएको छ। 

महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र महेन्द्र भवन शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा.डा. प्रमिला राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल र काठमाडौँ–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापती उपस्थित रहेका थिए। 

सार्वजनिक शैक्षिक गुठीबीच महेन्द्र भवन माध्यमिक विद्यालयलाई आधुनिक र नमुना विद्यालयका रूपमा सञ्चालन गर्न सम्झौता गरिएको हो। आजभन्दा करिब ४५ दिन अगाडि महेन्द्र भवनका पूर्वविद्यार्थीले कार्यवाहक मेयर डंगोललाई भेटेर विद्यालय जोगाउन आग्रह गरेका थिए। 

सम्झौतापछि कार्यवाहक मेयर डंगोलले विद्यालयको सामाजिक प्रतिष्ठा उच्च भएका बेलाका असल अभ्यासको अध्ययन, समय सुहाउँदो प्रविधिसहित विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गरिने बताइन्। ‘विद्यालय संरक्षण गर्नु भनेको पूर्वाधार जोगाउनु मात्र होइन। त्यसैले विद्यालयको प्रतिष्ठा पुनस्थापना गर्न विद्यालयको गुरुयोजना निर्माण गरेर संयुक्त प्रयत्नबाट योजना कार्यान्वयन गर्नुपर्छ,’ उनले भनिन्। 

त्यस्तै, वडाध्यक्ष प्रजापतीले विद्यालयको सामाजिक छवि फिर्ता गरेपछि वडाको पनि खास फिर्ता हुने बताए। ‘उत्कृष्ट व्यवस्थापनमा उत्कृष्ट शैक्षिक क्रियाकलाप वडा ५ को पहिचान बन्नेछ,’ प्रजापतीले भने। 

गुठीका अध्यक्ष प्रा.डा. राईले ‘महानगरपालिकाको साथले विद्यालयलाई नयाँ स्वरुप प्रदान गर्न सहयोग पुग्ने बताए। 

२०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा गैरसरकारी विद्यालयका रुपमा महेन्द्र भवन माध्यमिक आवासीय विद्यालय स्थापना भएको हो। संस्थाको दायित्व २०५४ सालमा पूरा भयो। २०६१ सालमा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठि गठन गरेर विद्यालय सञ्चालनको दायित्व लिएको थियो। 

केही वर्षदेखि विद्यार्थी संख्यामा आएको कमी आएपछि आर्थिक अभाव सुरु भएको हो। यसबाट व्यवस्थापकीय चुनौती सिर्जना भएको जनाइएको छ। 

सम्झौता बमोजिम अब विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ हुनेछ। विद्यालयको स्वामित्व र भौतिक सम्पत्ति गुठीमै रहने भए पनि यसको सञ्चालन र व्यवस्थापनमा महानगरको प्रत्यक्ष भूमिका रहनेछ। विद्यालयलाई आगामी दिनमा उच्च शिक्षाको केन्द्रका रूपमा स्तरोन्नति गर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको छ।

यस सम्झौताअनुसार, विद्यालयको भौतिक संरचनाको मर्मत, नवनिर्माण र आधुनिक प्रविधि जडानका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्नेछ। विद्यालयको नीतिगत निर्णय र मार्गदर्शनका लागि महानगरका उपमेयरको संयोजकत्वमा ‘विद्यालय निर्देशक समिति’ गठन हुनेछ। समितिमा गुठीका अध्यक्ष सहसंयोजक रहने व्यवस्था गरिएको छ।

त्यसैगरी, हाल कायम रहेका नौ जना गुठियारमा महानगरले तोकेका आठ जना थप गरी १७ सदस्यीय शैक्षिक गुठी बनाइनेछ। विद्यालय परिसरमा शैक्षिक कार्यक्रमका अतिरिक्त विशेष विद्यालय, स्पोट्र्स एकेडेमी र बाल विकास कार्यक्रमहरू समेत सञ्चालन हुने भएको छ। 

महानगरले वार्षिक बजेट र कार्यक्रममार्फत विद्यालयको गुरुयोजना कार्यान्वयन गर्नेछ। यस सहकार्यले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा एउटा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad