ad ad

समाज


रेडक्रस र कोकाकोलाद्वारा डेढ करोडको स्वास्थ्य सामग्री सहयोग

रेडक्रस र कोकाकोलाद्वारा डेढ करोडको स्वास्थ्य सामग्री सहयोग

नेपालखबर
असार १६, २०७७ मंगलबार ९:८,

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले एक करोड ५७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलबार ती सामग्री हस्तान्तरण गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले ७ वटा भेन्टीलेटर सहित गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोग स्वरुप उपलब्ध गराएको हो। १ करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ।

आज पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्स लगायतका सामग्री उपलब्ध गराएको हो। भेन्टीलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ।

स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्रीहरु बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा संक्रमण फेला परेको बताए। उनले सोमबारसम्म करिब १३ हजार संक्रमितको संख्या पुगेको र त्यस मध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको बताए।

मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिए। अहिले देशभर २२ वटा पीसीआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण सम्भव भएको र अबको केही दिन भित्र देशभर ३३ वटा ल्याब पुर्‍याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताए।

उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा विरामीको उपचारमा प्रयोग गरिने भेन्टीलेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .