समाज


भारतले नहरमा पानी छाडेन, किसान भन्छन्- मानो रोपेर मुरी फलाउने दिन गए

भारतले नहरमा पानी छाडेन, किसान भन्छन्- मानो रोपेर मुरी फलाउने दिन गए

वीरेन्द्र कर्ण
असार १५, २०७७ सोमबार ३:४२,

हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन्।

आकाशबाट छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाडेपछि बारा, पर्सा लगायतका जिल्लामा मानो रोपेर मुरी फलाउने आशा यसपालि अधुरै हुन लागेको हो।

गण्डक नहरमा पानी नआउँदा पर्सा, बारा तथा रौतहटमा सिँचाइको अभावमा चाहेजति धानको बेर्ना राख्न नपाएपछि यहाँका किसान पुर्पुरोमा हात राख्न बाध्य छन्।

नारायणी सिँचाइ आयोजना बहुअरीका सूचना अधिकारी सुरेशप्रसाद साहले भारतले गण्डक नहरमा पानी छोडिसकेको दाबी गरे। आजसम्ममा पानी किसानको खेतमा पुग्ने उनको भनाई छ।

मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटका किसानले गण्डक नहरमा समयमा पानी नछोड्दा राम्रोसँग धानको बेर्ना लगाउन नसकेका हुन् । पश्चिमी पर्सा जगरनाथपुरका किसान हरिदेवले भने, ‘आकाशे पानीको भरमा थोरै बीउ लगाएको भए पनि अत्यधिकरुपमा वर्षा नहुँदा पानीको अभावमा लगाएको धानको बेर्नाको अभाव हुन थालेको छ।’

केही दिनयता मनसुन सक्रिय भई फाट्टफुट्ट पानी परे पनि पर्याप्तमात्रामा सिँचाइको अभावका कारण सोचे जति धानको बेर्ना लगाउन नसकिएको गुनासो किसान मनोज साह कानुले गरे।

‘आवश्यक पानीको अभावका कारण यसपालि सोचे जति धान उत्पादन गर्न सकिँदैन,’ निरास हुँदै उनले भने। तीन वर्षअघि साउनको अन्तिम साता आएको बाढीपहिरोले नेपाल–भारत क्षेत्रमा रहेको गण्डक नहरका विभिन्न ठाउँमा क्षति भएपछि नहरमा पानी आपूर्तिमा ढिलाइ हुँदा सिचाइँ गर्नेबेलामा पानीको अभाव भएको हो।

पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गर्दै आइरहेका छन्।

पानीको अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा हालसम्म ४० प्रतिशत मात्र धानको बीउ राख्न सकिएको भन्दै कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादव गण्डक नहरमा समयमा पानी नछोड्दा यस वर्ष धानखेती प्रभावित हुने बताउछन्।

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा पर्सा बारा रौतहटका किसानले साना सिँचाइ, आकाशे वर्षा तथा खोलाको पानी सदुपयोग गरी धानको बेर्ना लगाएको देखिन्छ।

गण्डक नहरबाट पर्सा, बारा तथा रौतहटमा ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ तर समयमा पानी नआउँदा यसपालि धान रोपाइँ ढिलो भएको किसान शेषमन पण्डितले चिन्ता व्यक्त गरे। केही समयअघि बाढीले नेपालतर्फ ८१ किलोमिटर लामो गण्डक नहरलाई क्षति पु¥याउँदा त्यस बेला पानीको अभावमा पर्सा, बारा र रौतहटको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइएको गहुँखेती प्रभावित भएको थियो।

भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिम पर्साको जानकी टोलाबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको वाग्मती नदीमा गएर मिसिन्छ। नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ।

अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटमा पानीको अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारतमाथिको परनिर्भता बढ्दै गएको छ।

उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै पनि पानीको अभावमा समयमा धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको हो।

सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा पानी नपर्दा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुरी फलाउने काम सपना जस्तो भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad