छापा खबर


प्रधानमन्त्रीको अभिव्यक्ति : कुर्सी हल्लिँदा भारतलाई दोष!

प्रधानमन्त्रीको अभिव्यक्ति : कुर्सी हल्लिँदा भारतलाई दोष!

नेपालखबर
असार १५, २०७७ सोमबार ३:१९,

प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको बताएका छन्।

भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि आफूलाई हटाउन चलखेल भएको आरोप उनले लगाए। ओलीले आफू संकटमा पर्दा भारतमाथि आरोप लगाएको यो पहिलोपटक भने होइन्। यो खबर आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन्।

ओलीले आफूले पहिलोपटक गठबन्धन सरकारको नेतृत्व गरेको नौ महिनापछि तत्कालीन एकीकृत माओवादीले समर्थन फिर्ता गर्नुका पछाडि पनि भारतको हात रहेको आरोप त्यतिबेला लगाएका थिए।

‘अहिले सरकार परिवर्तनको प्रक्रिया सामान्य होइन, रिमोट कन्ट्रोलले काम गरेको छ,’ २०१६ जुलाई दोस्रो साता माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि ओलीले भनेका थिए।

आफ्नो कुर्सी संकटमा पर्दा वा जनताको विश्वास जित्न भारतलाई आरोप लगाउने ओली एकमात्र पात्र भने होइनन्। पुष्पकमल दाहालले पनि पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिँदा भारतलाई नै दोष लगाएका थिए।

उनले सन् २००९ मा तत्कालीन प्रधानसेनापति रुक्मागत कटवाल प्रकरणमा राजीनामा दिँदै भनेका थिए, ‘मैले विदेशी शक्ति र प्रतिक्रियावादी तत्वसँग झुक्नुभन्दा पदबाट राजीनामा दिने निर्णय गरें।’ त्यतिबोल तत्कालीन नेकपा माओवादीबाट प्रधानमन्त्री भएका दाहाल अहिले नेकपाको कार्यकारी अध्यक्ष छन्।

२०६७ सालमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग ६ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्दा पनि जित हासिल गर्न नसकेपछि दाहालले त्यसका पछाडि भारतीय भूमिका रहेको आरोप लगाएका थिए।

दाहालले जनवरी २०१० मा एक कार्यक्रमलाई सम्बोधन गर्दै नारायणहिटी दरबार हत्याकाण्डमा पनि भारतको हात भएको आरोप लगाएका थिए। दाहालको नेतृत्वमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका बेला भारतलाई प्रधान शत्रु मान्दै बंकर युद्धको पनि घोषणा गरिएको थियो। तर पछि माओवादी द्वन्द्वलाई भारतबाट सहयोग र समर्थन मिलेका तथ्यहरु पुष्टि हुँदै गए।

पूर्वप्रधानमन्त्री एवं हाल जनता समाजवादी पार्टीका नेता (तत्कालीन विद्रोही माओवादी नेता) बाबुराम भट्टराईले आइतबार प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति व्यंग गर्दै ट्विट गरेका छन्।

उनको ट्विटमा छ, ‘बहुमत प्राप्त प्रम ओलीलाई आफ्नै पार्टीलेबाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन। तर अहिले हटाए नक्सा छापेको कारणले हुने! भोलि सलहले दुःख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने ! अलिपछि दसैंतिहारको बेला हुने ! अनि जाडोको बेला हुने ! उचित बेला चैं कैले रच हँ ?’

दाहाल नेतृत्वमा पहिलोपटक बनेको सरकारमा अर्थमन्त्री रहेका यिनै भट्टराईले उक्त सरकार ढल्नुको कारण दिल्ली रहेको आरोप लगाएका थिए।

तत्कालीन सरकारले प्रधानसेनापति कटवाललाई हटाउन गरेको निर्णयलाई राष्ट्रपति रामवरण यादवले उल्टाइदिएका थिए। भट्टराइले त्यसको दोष दिल्लीलाई लगाएका थिए।

राजनीतिक विश्लेषक हरि रोका आफू कमजोर हुँदा भारतलाई दोष लगाउने रोग पुरानै भएको बताउँछन्। २००७ सालको क्रान्तिपछि भारतले लामो समयसम्म नेपालमा माइक्रोम्यानेजमेन्ट गरेको सत्य भए पनि पछिल्लो समय आफ्नो असफलतालाई पनि दिल्लीसँग जोड्ने प्रवृत्ति बढेको उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad