समाज


राजु सदा मृत्यु प्रकरणः प्रदेशसभामा विशेष समिति गठनको प्रस्ताव पेश

राजु सदा मृत्यु प्रकरणः प्रदेशसभामा विशेष समिति गठनको प्रस्ताव पेश

शैलेन्द्र महतो
असार १४, २०७७ आइतबार ११:३५,

प्रदेशसभा २ ले प्रादेशिक अस्पतालको आइसोलेसनमा ज्यान गुमाएका राजु सदाको मृत्यु सम्बन्धमा अध्ययन गर्न विशेष समिति गठनको प्रस्ताव पेश गरेको छ। 

आइतबार बसेको प्रदेशसभा बैठकमा राजु सदाको मृत्यु सम्बन्धी अध्ययन विशेष समिति प्रस्ताव पेश गरिएको हो।

राजु सदाको मृत्यु सम्बन्धमा विविध पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रदेशसभामा रहेका दलहरुबाट पाँच जना सांसद रहेको विशेष अध्ययन समिति गठन गरेको हो। समितिमा नेकपाका प्रदेश सांसद रविन्द्र बैठा, जनता समाजवादी पार्टीकी सांसद चमेली देवी दास, जसपाकै सांसद सुरिताकुमारी साह, नेपाली कांग्रेसका सांसद नरेशकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्री देवी साह रहेका छन्।

विशेष समितिले सभामुखको निर्देशनमा रही राजु सदाको मृत्यु सम्बन्धमा अध्ययन गर्ने, अवश्यक परेमा विषेशज्ञ लगायत व्यक्तिको सहयोग लिन सक्ने, अध्ययनको क्रममा विभिन्न मन्त्रालय र कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने सभामुख सरोजकुमार यादवले बताए।

समितिलाई बढीमा ५ दिनमा आफ्नो अध्ययन प्रतिवेदन पेश गर्न भनिएको उक्त विशेष समिति सम्बन्धी प्रस्तावमा प्रदेशसभामा उपस्थित सबै सांसदहरुले समर्थन जनाएका छन्।

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएको थियो।

पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा उदासिन रहे। पीसीआर टेस्टको लागि स्वाब संकलन गरिए पनि समयमा रिपोर्ट आएन। असार ८ गते आएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सिकिस्त अवस्थामा पुगिसकेका उनलाई अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो।

समयमै उपचार नहुँदा राजुको गएको मंगलबार प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा मृत्यु भएको थियो।

उपचार अभावमा छटपटाएर राजु सदाको मृत्यु भएको घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना हुँदै आएको छ भने अस्पताल, चिकित्सक र सरकारप्रति गम्भीर प्रश्न चिन्ह लागेको छ।

भारतको मदरासबाट झण्डै एकसाता लगाएर साथीभाइसँग घर फर्केका राजुलाई हंसपुर नगरपालिका ७ को क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टिनमा बसेको १० दिनपछि राजुलगायतको आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। दुई दिनपछि आफूलाई सञ्चो नभएको बताएपछि उनलाई प्रादेशिक अस्पतालको आइसोशन कक्षमा भर्ना गरिएको थियो।

राजुको मृत्युको सन्दर्भमा उपचारमा संलग्न चिकित्सकहरुको टोलीले प्रादेशिक अस्पताललाई बिहीबार बुझाएको प्रतिवेदनमा उनको मृत्यु इन्सेफ्लाइटिस रोगको कारणले भएको उल्लेख छ।

प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. कुल्दीप पण्डितले राजुको मृत्यु सन्दर्भमा बुझाएको प्रतिवेदनमा उनलाई इन्सेफ्लाइटिस रोगको भएको र सो रोगको उपचार नभएका कारण मृत्यु भएको उल्लेख छ।

यसअघि असार ११ गते प्रदेश २ सरकारले राजु सदा मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समाजिक विकास मन्त्रालयले गठन गरेको उक्त समितिका सदस्यमा समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान रहेका छन्।

राजुको मृत्यु के कति कारणले भएको हो भन्ने अध्ययन तथा अनुसन्धान गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

राजु सदा मृत्यु प्रकरण : छानविनका लागि प्रदेश सरकारले बनायो समिति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad