ad ad

समाज


क्वारेन्टिनबाट परीक्षणबिनै घर पठाइएका एक सय बढीमा संक्रमण पुष्टि, समुदायस्तरमा कोरोना फैलिने त्रास

 क्वारेन्टिनबाट परीक्षणबिनै घर पठाइएका एक सय बढीमा संक्रमण पुष्टि, समुदायस्तरमा कोरोना फैलिने त्रास

गोकुल जोशी
असार १०, २०७७ बुधबार २:३४,

सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै क्वारेन्टिनबाट घर पठाइएका मानिसमा कोरोना संक्रमण देखिन थालेको छ।

लकडाउनकैबीचमा भारतबाट फर्किएर १४ दिन क्वारेन्टिन बसाईपछि पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका मानिसमा संक्रमण देखिन थालेको हो। यसले संक्रमण समुदायस्तर फैलिने जोखिम बढेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते १४ दिन क्वारेन्टिनमा बसेकालाई लक्षण नदेखिए घर पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार प्रदेशका ९ जिल्लामा रहेका ३० हजार भन्दा बढिलाई घर पठाइएको छ।

जेठ २३ गतेसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ६० हजार बढि मानिस क्वारेन्टिनमा थिए। तीमध्ये ३० हजारलाई घर पठाइएको छ। सुदूरपश्चिममा पछिल्लो समय २९ हजार ९ सय २८ जना मात्रै क्वारेन्टिनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

जेठ २३ यता ४ हजार ९४ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। क्वारेन्टिनबाट अधिकांशलाई आरडिटी परीक्षणकै भरमा घर पठाइएको हो।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी क्वारेन्टिनबाट घर पठाइएका एक सय भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ५८, डोटीको शिखर नगरपालिकाका १५, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ र कैलालीका ७६ जनामा क्वारेन्टिनबाट घर गएपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो।

सोमवार कैलालीको लम्किचुहा नगरपालिका–१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा बसेर घर पुगेका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिए।

पीसीआर रिपोर्ट आउन ढिला भएको भन्दै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको हो। संक्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको थियो।

उनीहरुमा कोरोनाको लक्षण नदेखिएको तथा पीसीआर रिपोर्ट आउँन ढिला भएका कारण घर पठाइएको बिसीले जानकारी दिए।

संक्रमण समुदायस्तर फैलिने जोखिम
कोरोना परीक्षणमा कन्जुसाई र रिपोर्ट आउन ढिलाई भएको अवस्थामा क्वारेन्टिनबाट मानिसहरुलाई घर पठाउन थालेपछि चिकित्सकले संक्रमण समुदायस्तरमा विस्तार हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रदेशमा संक्रमितको संख्या १२ सय पुगेको छ । नयाँ संक्रमित थपिने क्रम पनि बढ्दो छ । क्वारेन्टिनबाट घर गएकामध्ये अझै हजारौं नागरिकको परीक्षण हुन सकेको छैन।

लक्षण नदेखिएकालाई क्वारेन्टिनबाट धमाधम घर पठाउने काम जारी रहँदा यसले संक्रमण समुदायस्तरमा फैलिन योगदान गरिरहेको चिकित्सक बताउँछन्। भाइरसको लोड तथा असर र सर्नेदर सबै संक्रमितमा एउटै नहुने कुरालाई वेवास्ता गरिएको उनीहरु बताउँछन्।

‘सबै मानिसमा भाइरलको मात्रा फरक–फरक हुन्छ, भाइरल मात्रा बढि भएको मानिस कहिले लक्षणविहिन हुन सक्छ, थोरै मात्रामा भएको मानिस धेरै लक्षण देखिन सक्छन्,’ सेती प्रादेशिक अस्पतालका डा.जगदिश जोशीले भने, ‘त्यसैले एक पटक पीसीआर परीक्षण गरेर पठाएको भए समुदायमा फैलिन डर कम हुन्थ्यो ।’

बिना परीक्षण घर पठाउनु व्यवहारिक नभएको भन्दै चिकित्सकले यस्तो काम बन्द गर्न माग गरेका छन् । क्वारेन्टिनबाट परीक्षण नै नगरी घर पठाउँदा अन्तिम समयमा संक्रमित भएकाले सार्ने सम्भावना उच्च हुन्छ। यसले संक्रमणको जोखिम बढेको छ।

तर प्रदेश स्वास्थ्य निर्देशनालय भने संघीय सरकारको मापदण्ड अनुसार नै १४ दिन क्वारेन्टिन बसेपछि घर पठाएको जनाएको छ। स्वाब संकलनपछि रिपोर्ट आउन ढिलाई भएकाले पनि घर पठाउनु परेको सुदूरपश्चिम प्रदेश स्वास्थय निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

संक्रमण देखिएका र १४ दिनसम्म क्वारेन्टिनमा बसेकालाई परीक्षणबिनै घर पठाउँदा समुदाय स्तरमै संक्रमण पुग्ने भन्दै स्थानीय सरकार पनि त्रसित छन् । होम क्वारेन्टिन सुरक्षित भए पनि नागरिकले पालना नगरेकोले संक्रमण समुदायस्तरमा फैलिन सक्ने खतरा बढेको बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .