ad ad

समाज


तस्करबाट बरामद साढे ३२ लाखको सुन प्रहरीले नै बाँडचुँड गरेर राखेपछि...

तस्करबाट बरामद साढे ३२ लाखको सुन प्रहरीले नै बाँडचुँड गरेर राखेपछि...

नेपालखबर
असार ५, २०७७ शुक्रबार १४:२७,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी रसुवा टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गत पुस ११ गते अवैध रूपमा चीनबाट ल्याइएको सुन बरामद गरी कसुरदारसहित सम्बन्धित निकायमा बुझाउनुपर्नेमा प्रहरी निरीक्षक नेपालसहितले आपसमा बाँडफाँड गरी लिएको अनुसन्धानबाट खुलेको छ।

टिमुरेका प्रहरी हवल्दार रामशरण रिमालले ना६ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट बरामद ४२२ ग्राम सुन सम्बन्धित निकायमा बुझाउनुपर्नेमा प्रहरी निरीक्षक नेपालको मिलेमतोमा आपसमै बाँडचुँड गरी लिएको पाइएको आयोगले जनाएको छ।

आयोगले उक्त सुनको मूल्यको प्रचलित दरअनुसार २६ लाख ५२ हजार ५९ कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले प्रहरी निरीक्षक नेपाल, प्रहरी हवल्दारहरू रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीविरुद्ध समान बिगो कायम गरी मुद्दा दायर गरिएको जनाएको छ।

यस्तै आयोगले २०७६ मंसिर २२ गते पनि प्रहरी निरीक्षक नेपालसमेतले चीनबाट अवैध रूपमा ल्याएको १ सय ११ ग्राम सुनसमेत प्रहरी हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीसमेतको मिलेमतोमा बेचविखन गरी पदीय दुरुपयोग गरेको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ। 

आयोगले १११ ग्राम सुनको प्रचलित मूल्यअनुसार ६ लाख ७७ हजार ५९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आजै नेपाल, लामा र खत्री विरुद्धसमेत मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .