समाज


सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

नेपालखबर
असार ४, २०७७ बिहिबार १४:३२,

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ। मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो।

पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए।

बयान सकिएपछि अब थुनछेक बहस शुरु हुने छ। अभियोग लागेका प्रतिवादीले आफ्नो बयान राखिसकेकाले शुक्रबारदेखि अदालतमा छुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ। जाजरकोटका पाँच र रुकुम (पश्चिम) का एक गरी ६ युवाको ज्यान जाने गरी गत जेठ १० गते भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका पाँच जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।

सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका एक जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ। घटनामा संलग्न भएको आरोपमा मुद्दा लागेका दुई नाबालकलाई भने अदालतले सोमबार मुद्दा पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश दिएको थियो। उक्त आदेशानुसार प्रहरीले केटालाई नेपालगञ्ज र केटीलाई भक्तपुरको बालसुधारगृहमा पठाएको छ।

यसैबीच फरार प्रतिवादीका हकमा भने अब अदालतले भनेअनुसार हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। मुद्दा अदालतमा गइसकेकाले अदालतले पक्राउको चिठ्ठी पठाएपछि फरार प्रतिवादीलाई पक्राउ गरिने उनको भनाइ छ। प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमवहादुर बुढा फरार छन्।
रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad