तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको आक्रामक अभिव्यक्तिका कारण उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता सफल नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
बोल्टनले उत्तर कोरियाको सत्ता परिवर्तनका लागि ‘लिबिया मोडेल’ अपनाउनुपर्ने बताएका थिए।
‘..बोल्टनले मूर्खतापूर्वक लिबिया मोडेलबारे विचार गरिरहेको अभिव्यक्ति दिएपछि सबै बर्बाद भयो। त्यतिञ्जेल राम्ररी वार्ता गरिरहेका किम आफ्नो क्षेप्यास्त्रझैँ बाउँडिए,’ ट्रम्पले ट्विट गरेका छन्, ‘...किम बोल्टन नजिक परेको मन पराउँदैनथे। बोल्टनको खराब अभिव्यक्तिले उत्तर कोरियाको मामिलामा हामीलाई अहिलेसम्म पनि पछि पारिरहेको छ।’
त्यहीबेला उनलाई बर्खास्त नगरेकोमा ट्रम्पले पश्चाताप पनि व्यक्त गरेका छन्।
— Donald J. Trump (@realDonaldTrump) June 18, 2020....He didn’t want Bolton anywhere near him. Bolton’s dumbest of all statements set us back very badly with North Korea, even now. I asked him, “what the hell were you thinking?” He had no answer and just apologized. That was early on, I should have fired him right then & there!
ट्रम्पले बोल्टनलाई सेप्टेम्बर २०१९ मा बर्खास्त गरेका थिए।
हालै बोल्टनले एक पुस्तक लेखेका छन्, जुन आगामी २३ तारिखमा बजारमा जानेछ।
सो पुस्तकमा बोल्टनले ट्रम्पबारे थुप्रै खुलासा गरेका छन्।
जोन बोल्टन
पुस्तकमा ट्रम्पले आगामी निर्वाचन जित्न सहयोग गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई गुहार मागेको, बेलायत आणविक शक्तिसम्पन्न राष्ट्र भएको ट्रम्पले थाहा नपाएको, भेनेजुएला अमेरिकाकै हिस्सा भएको भन्दै आक्रमण गर्न चाहेको, फिनल्यान्ड रुसको हिस्सा हो भनेर सहयोगीहरुलाई सोधेको, रुसमाथि लगाइएको प्रतिबन्ध नरुचाएको र सीएनएनका पत्रकारलाई जेलमा थुन्न चाहेकोजस्ता आरोप बोल्टनले लगाएका छन्।
ट्रम्प प्रशासनले सो पुस्तकको प्रकाशन रोक्ने प्रयास गरिरहेको छ।
तर, यसअघि महाअभियोग लागेपछि भएको संसदीय सुनुवाइमा बोल्टनले ट्रम्पको बचाउ गरेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया