बागलुङमा स्वाब संकलन गरेको १७ दिन बित्दा पीसीआर रिपोर्ट नआएपछि क्वारेन्टिनमा बसेकाहरु चिन्तित भएका छन्।
गलकोट नगरपालिकाका विभिन्न वडाका क्वारेन्टिनमा रहेका नागरिकहरुको गत जेठ १३ देखि १८ गते सम्मका स्वाब संकलन गरेर पोखरा पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट आएको छन्।
रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकाहरु मात्रै होइन स्थानीय सरकारको समेत चिन्ता बढाएको छ।
गलकोट नगरपालिका बाट ८० जनाको स्वाब पोखरास्थित स्वस्थ विज्ञान प्रतिष्ठानमा पठाइएको हो। लामो समय भई सक्दा पनि रिपोर्ट नआउँदा क्वारेन्टिनमा रहेका नागरिकहरुलाई मानसिक रूपमा असर पुगेको र उनीहरूमा निराशा पैदा हुन थालेको भन्दै गलकोट नगरपालिकाले चिन्ता व्यक्त गरेको छ।
दिनहुँ नगरभित्र छिमेकी मुलुक भारतबाट नागरिकहरु भित्रिने क्रम पनि बढेको छ। क्वारेन्टिनहरु भरिभराउ छन् जसले गर्दा स्वास्थ्य सुरक्षा र व्यवस्थापकीय चुनौती पनि थपिन थालेको छ।
नगरपालिकाले यो विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए। ‘हामीले पटक–पटक यो विषयमा के भइरहेको छ भनेर बुझ्ने कोसिस ग¥यौ तर सम्बन्धित निकायबाट चित्त बुझ्दो जवाफ पाउन सकेनौं’, उनले गुनासो गरे।
यता नगरपालिकालाई पनि क्वारेन्टाइनमा रहेकाका परिवार, आफन्त, जनप्रतिनिधि र क्वारेन्टाइन व्यवस्थापन समितिले दिनहुँ स्वाब परीक्षणको रिपोर्टका बारेमा सोधपुछ गर्न थालेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन्।
क्वारेन्टिनमा रहेका एक नागरिकले यतिका दिनसम्म पनि सरकारले रिपोर्ट दिन नसक्नु लज्जास्पद र दुःखद कुरा भएको गुनासो गरे। ‘हाम्रो सरकार नै छैन कि भन्ने अनुभूति गरिरहेका छौं’, ती व्यक्तिले भने।

प्रतिक्रिया