समाज


चोकचोकमा ट्राफिक प्रहरीले किन देखाए प्लेकार्ड?

चोकचोकमा ट्राफिक प्रहरीले किन देखाए प्लेकार्ड?

रमेश लम्साल/नारायण ढुंगाना
जेठ ३२, २०७७ आइतबार १४:१२,

काठमाडौं उपत्यकाका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मी आज हात हातमा प्लेकार्ड लिएर उभिए। सवारी चालक तथा पैदलयात्रुसमेत अचम्म मानेर हेरे। लकडाउन जारी रहेको बेला सुरक्षाकर्मी किन प्रदर्शनमा उत्रिएका होलान्? झट्ट देख्ने जो कोहीले यस्तै सोच्न सक्छन्। पछिल्ला दिनमा राजधानी काठमाडौँलगायतका विभिन्न स्थानमा विभिन्न माग राखी प्रदर्शन भइरहेको छ।

कोरोनाको संक्रमण घट्नुको साटो बढिरहेको छ। यद्यपि सरकारले सोमबारदेखि लकडाउनलाई बिस्तारै खुकुलो बनाउने भएको छ। सरकारी तथा गैरसरकारी कार्यालयसमेत दुई सत्रमा सञ्चालनमा ल्याउने भएको छ। लकडाउन फरक रुपमा अगाडि बढाउने तयारी भइरहेको बेला चोकचोकमा सुरक्षाकर्मी किन प्लेकार्ड लिएर उभिएका होलान्? आम मानिसको जिज्ञासा हुन सक्छ।

लामो समय घरबाट बाहिर ननिस्केका नागरिक कामका सिलसिलामा बाहिर निस्कँदा देखिने यस्तो दृश्यले ध्यान तान्न सक्छ। चोकचोकमा सवारी व्यवस्थापनका लागि उभिएका ट्राफिक प्रहरीले देखाएको प्लेकार्डमा लेखिएको छ–‘अनिवार्य रुपमा मास्क प्रयोग गरौँ। सामाजिक दूरी कायम गरौँ।’

सधैँ सडकमा सवारी नियम पालना गराउन उभिने ट्राफिक प्रहरी आज फरक उद्देश्यका साथ सडकमा परिचालित भएका छन्। उनीहरु सवारी रोकेर चालकको जाँच मात्रै गर्दै थिएनन् सवारी चालक तथा पैदलयात्रुलाई कोरोनासँग लड्न सहयोगसमेत पु¥याइरहेका छन्। उनीहरु नागरिकलाई सचेततासँगै कोरोनासँग लड्ने सीपसमेत प्रदान गरिरहेका छन्।

कोरोनाबाट लड्नका लागि मास्क अनिवार्य रुपमा प्रयोग गर्न, कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम राख्न, अनावश्यक भीडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ। सोही आग्रहअनुसार नै ट्राफिक प्रहरीले सडकमा उभिएर सामाजिक सचेतनाका नारा देखाएका छन्।

आम मानिसले सोचेजस्तै गरी ट्राफिक प्रहरीले कोभिड–१९ संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै विशेष अभियान सञ्चालन गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि उक्त विशेष अभियान सञ्चालन गरेको हो। महाशाखालगायत मातहतका ३४ ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी परिचालन गरी कोरोनाबाट बच्न आम समुदायलाई सचेतनाका लागि प्लेकार्ड प्रदर्शनसहित विशेष अभियान थालेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट सडक प्रयोगकर्तामा हुने जोखिमप्रति विशेष ध्यानाकर्षण गराउन अभियान थालिएको हो। उपत्यकाका मुख्यमुख्य चोक एवम् भीडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारीसाधनमा हुने भीडभाड कम गराउन प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाएको ढकालले जानकारी दिए।

प्लेकार्डमा ‘सधैँ मास्क लगाएर यात्रा गरौँ’, ‘जोरबिजोर नियम पालना गरौँ’, ‘सवारीसाधनमा सामाजिक दूरी कायम गरौँ’, ‘जथाभावी हिँड्डुल नगरौँ’ र ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता कुराहरू लेखिएको छ। जुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको लडाइँमा तयार पारेको सचेतनामूलक नारा जस्तै रहेको छ। सो अभियानमा महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट काठमाडौँ उपत्यकाको ८२ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ।

अभियानको महत्वका बारेमा थप प्रकाश पार्दै ढकालले भने, ‘टोलीले सधैँ मास्क लगाएर यात्रा गर्न, जोरबिजोर नियम पालना गर्न, सामाजिक दूरी कायम गर्न, जथाभावी हिँड्डुल नगर्न, भीडभाड गरी नबस्न र यात्रा नगर्नका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछन्।’

आजदेखि दैनिक बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म सचेतनामूलक कार्यक्रम जारी रहनेछ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले यात्रु तथा सडक प्रयोगकर्तालाई लक्षित गरी कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन नागरिकलाई सावधानी गराउनका लागि सो अभियान थालिएको बताए। त्यसरी परिचालित प्रहरीमध्ये केहीले पीपीई लगाएका छन्। पीपीई लगाएका प्रहरीले सवारीको जाँच गर्नेछन्। यस्तै मास्क, पञ्जा चस्मा लगाएका ट्राफिक प्रहरी भने आफ्नै नियमित पोसाकमा नै खटिएका छन्।

यसअघि पनि ट्राफिक प्रहरीले कहिले विद्यार्थी त कहिले सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी गराएर ट्राफिक सचेतना कार्यक्रम चलाएको थियो। अभियानले एक त सर्वसाधारणमा चेतना वृद्धि हुने र ट्राफिकले खेल्ने भूमिका र उनीहरुको समस्याका बारेमा बुझ्ने हुँदा स्वयं पनि परिवर्तन हुने विश्वासका साथ अभियान चलाउने गरेको महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरीको उक्त अभियानलाई सवारी चालक तथा पैदलयात्रुले समेत सराहना गरेका छन्। शान्ति सुरक्षा एवम् सवारीसाधनको व्यवस्थापनसँगै सचेतनाका लागि परिचालित भएकामा सरोकार भएकाले धन्यवादसमेत दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad