ad ad

समाज


निको नहुँदै महाकाली अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित डिस्चार्ज

निको नहुँदै महाकाली अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित डिस्चार्ज

गोकुल जोशी
जेठ ३२, २०७७ आइतबार १०:२,

महाकाली अस्पतालले कोरोना संक्रमण मुक्त भएको (नेगेटिभ) नतिजा नआईकनै आइसोलेसनमा भर्ना भएका ४ संक्रमितलाई डिस्चार्ज गरेको छ।

अइतबार अस्पतालले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिन कटेका र लक्षण नदेखिएका संक्रमितहरुलाई डिस्चार्ज गरेको हो।

अस्पतालले नयाँ निर्देशिका बमोजिम उनीहरुको नेगेटिभ रिजल्ट कुर्नु नपर्ने देखिएकाले डिस्चार्ज गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही जेठ २० गते जारी गरेको कोभिड–१९ केस आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकामा लक्षण तथा चिन्ह नदेखिएका केसको हकमा आइसोलेसन बसेको १४ दिनपछि छोड्न मिल्ने उल्लेख छ।

अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.हरिकुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयको सोही निर्देशिकालाई टेक्दै १४ दिन अस्पतालको आइसोलेसनमा बसिसकेका तर कुनै लक्षण नदेखिएका ४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। उनका अनुसार ती ४ जनालाई एम्बुलेन्स राखेर पठाइएको हो।

‘संक्रमितहरु बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाले नै १४ दिन कटाएर लक्षण नदेखिएकालाई पठाउन भनेको छ। त्यही अनुसार डिस्चार्ज गरिएको हो,’ मेसु डा. श्रेष्ठले भने। अस्पतालको आइसोलेसनमा राखिएपछि पछिल्लो पटक पीसीआर परीक्षण नगरिएको उनले बताए। यसअघि दुई पटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो। त्यसो गर्दा लामो समय संक्रमितहरुले आइसोलेसनमा बिताउने गरेका थिए।

संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका विरामीहरुलाई घरमै आइसोलेसन राख्ने नीतिअनुरुप नयाँ निर्देशिका जारी गरेको हो। अस्पतालले आइतबार काठमाडौँ कागेश्वरी नगरपालिकाका २ जना र कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिका एक÷एक जनालाई डिस्चार्ज गरेको हो।
उनीहरुलाई दुई हप्ता होम क्वारेन्टिन तथा आइसोलेसनमा बस्न, अरुसँग घुलमिल नहुन, पौष्टिक खानेकुरा खान र चिकित्सकको नियमित सम्पर्कमा रहन भनि पठाइएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको घरमै आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने कुराहरु उल्लेख छन् । जसमा हावा खेल्ने तथा प्रर्याप्त प्रकाश आउने छुट्टै कोठाको व्यवस्था हुनुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खाने, प्रयोग गरेको भाडाहरु सुरक्षित रुपमा सफा गर्ने र राम्रो सुकेपछिमात्रै प्रयोग गर्ने उल्लेख छ।

यस्तै स्नानघर, शौचालयको छुट्टै व्यवस्था मिलाउने, सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्थामा राम्रोसँग सरसफाई गर्ने, व्यक्तिगत सामग्रीहरु अरुलाई प्रयोग गर्न नदिने, हातधुने साबुन र पञ्जाको पर्याप्त व्यवस्था गर्नुपर्ने, दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन तथा एसएमएसबाट जानकारी गराउने आदि उल्लेख छ।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५२ छ। तीमध्ये २६ जना निको भएर यसअघि नै घर फर्किसकेको छन्। कोरोनाका कारण सुदूरपश्चिममा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .