प्रहरी हिरासतमै युवकको रहस्यमय मृत्युपछि सबैलामा तीन दिनदेखि प्रहरी विरुद्ध प्रदर्शन भइरहेको छ। मंगलबार राति धनुषाको सबैला नगरपालिका स्थित इलाका प्रहरी कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा स्थानीय २३ वर्षीय युवक सम्भु सदाको शव फेला परेको थियो।
प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरेकाे छ भने मृतकका परिवारले सम्भुको हत्या भएको दाबी गरिहेका छन्।
जेठ १२ गते सम्भुले चलाएको ट्याक्टर दुर्घटनामा गाउँकै एकजना महिलाको मृत्यु भएपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो। तर गएको जेठ २७ गते राति इलाका प्रहरीकै शौचालय भित्र छानोमा आफ्नै सर्ट, भेस्टले पासो लागेको अवस्थामा उनको शव भेटिएको थियो।
उनको हत्या भएको भन्दै मृतक परिवारसहित स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसहित प्रदर्शन गर्दै आएका छन्। शव फेला परेको दिन स्थानीयले इलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमा ढुंगामुढा गर्नुका साथै इलाका प्रहरी कार्यालय यदुकोहाको गाडीमा तोडफोड समेत गरेका थिए।
मृतक सदाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तीन दिन बित्न लाग्दा पनि पोस्टमार्टम हुन सकेको छैन भने स्थानीयको प्रदर्शन जारी छ। स्थानीय बासिन्दाले शुक्रबार सबैलामा हजारौंको उपस्थितिमा जुलुस प्रदर्शन गर्नुको साथै विरोध सभा गरेका छन् ।
मृतक सम्भुकी आमा शियाली सदाले आफ्नो छोरोको इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर चन्द्रभुषण यादवको मिलेमतोमा हत्या गरेर शव झुण्ड्याएको दाबी गरिन्।
आमा शियाली देवीले बिलाप गर्दै भनिन् ‘छोरोलाई हिरासतमा भेट्न जाँदा आफू असुरक्षित रहेको बताउने गरेको थियो। मेरो छोरो आत्महत्या गर्नै सक्दैन। मेरो छोरोलाई हत्या गरेर झुण्ड्याएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही होस्।’
मृतक परिवार र स्थानीयले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, छानबिन गर्न न्यायिक समिति गठन, प्रहरी इन्सपेक्टर चन्द्रभुषण यादवलाई अविलम्व निलम्बन, पोस्टमार्टम गर्न एकजना आफ्नो पक्षको चिकित्सकको उपस्थिति, मृतकका परिवारले क्षतिपुर्ति पाउनुपर्ने लगायतका पाँच सुत्रीय माग राखेका छन्।
बिहीबार प्रशासनले पोस्टमार्टम गर्न प्रतिनिधि राख्न दिने सहमति गरेपनि त्यसको कार्यान्वयन नहुँदा पोस्टमार्टम नभएको स्थानीय बासिन्दा समेत रहेका मानवअधिकारकर्मी विनोद महराको भनाइ छ।
यता धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पोस्टमार्टममा आफ्नो चिकित्सकको उपस्थिति गराउन कानुनतः नमिल्ने बताए।
‘मृतक पक्षलाई यहाँका चिकित्कले गर्ने पोस्टमार्टममाथि विश्वास छैन। त्यसमा बाहिरको चिकित्सक प्रतिनिधित्व गराउन शव परीक्षण आचार संहिताले मिल्दैन। त्यसैले पोस्टमार्टम भएको छैन’ प्रजिअ निरौलाले भने ‘आजै शव धरान लगेर नै पोस्टमार्टम गराउने कुरा थियो। तर उहाँहरु आउनु भएन ।’

प्रतिक्रिया