भक्तपुरको तेखापुखुस्थित मेधा माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीहरूलाई नगद पुरस्कार र पदकद्वारा सम्मानित गरेको छ।
भक्तपुरको सूर्यविनायकस्थित अजिमा पार्टी हलमा शनिबार आयोजित सम्मान कार्यक्रममा विद्यालयले जीपीए-फोर ल्याउने दुई जना विद्यार्थीलाई ५०-५० हजार तथा जीपीए ३.६१ देखि ३.९९ (ए प्लस) ल्याउने ६४ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद, स्वर्ण पदक, टीकासहित सम्मानित गरेको थियो।
यस्तै, ए प्लसभन्दा मुनिको ग्रेड ल्याई उत्तीर्ण हुने अन्य विद्यार्थीलाई पनि टीका र सामूहिक तस्बिरसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै मेधा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम हाडाले दिवंगत प्रधानाध्यापक गङ्गाधर हाडाको दूरदर्शी सोच, शिक्षकहरूको समर्पण, विद्यार्थीहरूको कठोर परिश्रम र सचेत अभिभावकहरूको सहयोगका कारण मेधा स्कुलले विगत झण्डै एक दशकदेखि एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए।
अतिथिले के भने?
कार्यक्रममा एसइई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले विद्यार्थीहरूलाई पाठ्यपुस्तक पढाउनुका साथै उनीहरूमा देशभक्तिको भावना जगाउनु आवश्यक रहेकोमा जोड दिए। 'उच्च शिक्षाका लागि विदेश जाने र उतै पलायन हुने (ब्रेन-ड्रेन) प्रवृत्ति बढ्दै गएको छ, जुन देशका लागि गम्भीर चुनौती हो। यसले अन्ततः राष्ट्रको विकास र समृद्धिमा बाधा पुर्याउनेछ। त्यसैले शिक्षकहरूले विद्यार्थीहरूमा मातृभूमिप्रतिको प्रेम र राष्ट्रिय संस्कृतिप्रतिको गौरववोध गराउनुपर्छ,' भक्तपुरका प्रभावशाली नेता बिजुक्छेले भने। 
कार्यक्रममा भक्तपुर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सरिता शर्मा र भक्तपुर नगरपालिका शिक्षा शाखा प्रमुख साधुराम फुयाँल लगायतले आफ्ना विचार व्यक्त गरेका थिए। उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै शर्माले देशभरिका सामुदायिक विद्यालयहरूको दयनीय अवस्थाबीच मेधा माध्यमिक विद्यालयले २०७९ सालदेखि कायम राखेको उत्कृष्ट प्राज्ञिक साखप्रति गर्व गरेकी थिइन्।

वि.सं. २००४ मा 'कन्या माध्यमिक विद्यालय'को नाममा स्थापना भई वि.सं. २०३४ बाट एसएलसी.परीक्षामा सहभागी हुन थालेको यस विद्यालयले वि.सं. २०६४ मा नयाँ मोड लिएको थयो। तत्कालीन उप-प्रधानाध्यापक दिवंगत गङ्गाधर हाडाको प्रवेशसँगै नयाँ जीवन पाएको यस विद्यालयलाई उनकै विशेष पहलमा वि.सं. २०७१ मा नाम परिवर्तन गरी 'मेधा माध्यमिक विद्यालय' नामाकरण गरिएको थियो। गङ्गाधरको समर्पण र दूरदर्शी नेतृत्वकै कारण वि.सं. २०७५ सालको एसएलसी/एसइई नतिजामा मेधा स्कुल देशभरिका सामुदायिक विद्यालयहरूमध्ये सर्वोत्कृष्ट (प्रथम) हुन सफल भएको थियो।
विद्यार्थीद्वारा प्रतिभा प्रदर्शन
पुरस्कार वितरण समारोहको समापनपछि आयोजित अनौपचारिक सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले आफ्नो विविध प्रतिभा प्रदर्शन गरेर हललाई संगीतमय बनाएका थिए। कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले शास्त्रीय नृत्य 'अष्टमातृका' प्रस्तुत गरेका थिए भने कक्षा १० का विद्यार्थी र शिक्षकहरूले सांस्कृतिक तथा आधुनिक विधा मिश्रण गरिएको 'रिमिक्स' नृत्य प्रस्तुत गरे।



Shares

प्रतिक्रिया